प्रियंका चोपडाको इन्गेजमेन्टको औंठीको मूल्यमा किन्न सकिन्छ आलीशान घर

अभिनेत्री प्रियंका चोपडाको विवाह कति शानदार तरिकाले भएको थियो, यो त सबैलाई थाहा छ । विवाहको पहिरनदेखि औंठीसम्म प्रियंकाले निकै महँगा सामान लगाएकी थिइन् । हालै एक अन्तरवार्तामा प्रियंकाले उनको इन्गेजमेन्ट गर्दाको औंठीको मूल्य २.१ करोड भारु भएको बताएकी थिइन् । अन्तरवार्तामा प्रियंकालाई उनको सबैभन्दा मूल्यवान गहना कुन हो भनेर सोधिएको थियो । प्रश्नमा जवाफ दिने बेलामा उनले हाँस्दै भनेकी थिइन्, ‘यदि मैले मेरो इन्गेजमेन्टको औंठीको नाम लिइनँ भने मेरा श्रीमान् निक जोनसले मलाई मार्नेछन् । हुन त यो औंठीसँग मेरा थुप्रै याद जोडिएका छन्, त्यसैले पनि म यसैको नाम लिन चाहन्छु ।’

रिपोर्टका अनुसार निक जोनसले आफ्ना साथीको मद्दतले प्रियंकाका लागि औंठी लिएका थिए । प्रियंकाले आफ्नो इन्गेजमेन्टको औंठी टिफनीको हुनुपर्छ भनेको निकले सुनेका थिए । योसँग उनको पिताको निकै गहिरो सम्बन्ध पनि भएको निकले बताए । उनले भने, ‘प्रियंकालाई विवाहको प्रस्ताव राख्ने सोच बनाएपछि मैले आफ्नो साथीलाई तत्काल बोलाएँ र टिफनी स्टोरमा गएर उनका लागि औंठी छानेँ ।’

उक्त अन्तरवार्तामा प्रियंकालाई अन्य प्रश्न पनि सोधिएको थियो । उनलाई ‘तपाईंका लागि ‘स्वर्ग’ के हो’ भनेर सोधिएको प्रश्नलाई उनले निकै सुन्दर तरिकाले जवाफ दिइन् । उनले भनिन्, ‘मेरा लागि स्वर्ग मेरो घर हो । यहाँ मेरा परिवारका सदस्य र साथी सबैसँग बस्न सक्छु । ’

प्रियंकालाई आफ्नो घरमा बस्न मनपर्छ । उनी साथीहरुसँग घरमा रमाइलो गरेका थुप्रै तस्बिर सोसल मिडियामा साझा गर्छिन् । प्रियंकाले आफ्नो नयाँ घरमा आफ्नो पहिलो दिवाली मनाएकी थिइन् । यसको फोटो र भिडियो उनले इन्स्टाग्राममा पनि सेयर गरेकी थिइन् । प्रियंकाको नयाँ घर लस एन्जिलिसमा छ जुन निकै शानदार र विलासी छ ।

प्रियंका चोपडा र निक जोनसले सन् २०१८ मा प्रेम विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *