टी–२० विश्वकप : समूह चरणमा पाकिस्तानको शतप्रतिशत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने

जारी आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको छ। आइतबार राति समूह चरण अन्तर्गतको पाँचौँ तथा अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान समूह विजेता भएको हो।

यूएईको शार्जाह क्रिकेट रंशालामा भएको खेलमा टस जितेर पाकिस्तानले पहिलो ब्याटिङ गर्दै स्कटल्यान्डलाई १९० रनको चुनौती दिएको थियो। जवाफमा स्कटल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रनमा समेटियो। स्कटल्यान्डका लागि रिचि बेरिङटोनले अविजित अर्धशतकीय पाली खेले। उनले ३७ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए। त्यस्तै जर्ज मुन्सेले १७ तथा माइकल लिस्कले १४ रन बनाउनबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

स्कटल्यान्डलाई रोक्न पाकिस्तानका शादब खानले २ विकेट लिए। त्यस्तै हसन अलीले १ मेडन राख्दै १ विकेट लिए भने शहिन शाह अफ्रिदीको नाममा पनि १ विकेट रह्यो।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले निर्धारि २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। उसका लागि कप्तान बाबर अजामले ६६ र शोयब मलिकले ५४ रन जोडेका थिए। त्यस्तै मोहम्मद हफिजले ३१ रन बनाएका थिए।

स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले २ विकेट लिए। त्यस्तै हम्जा तहिर सफ्यान शरिफले १/१ विकेट लिए।

यो जितसँगै सेमिफाइनलमा अब पाकिस्तानले अस्ट्रेलियाको सामना गर्ने भएको छ। अस्ट्रेलिया समूह १ को उपविजेता हो। खेल बिहीबार हुनेछ।

यसैगरी पहिलो सेमिफाइनल बुधबार इङ्ल्यान्ड र न्यूजिल्यान्डबीच हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *