केही दिनअघि भारतबाट सुनौली हुँदै अफगान नागरिकहरू नेपाल प्रवेश गरेको पाइएपछि अहिले रूपन्देहीको बेलहिया सीमामा नेपाली पक्षले कडा निगरानी गरिरहेको अधिकारीहरूले बताएका छन्। शरणार्थी पक्राउ गरेको विषयमा सर्वसाधारण मानिसहरूको भिन्न मत पनि देखिएको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अफगान नागरिकहरू “अवैध रूपमा” प्रवेश गरेपछि सीमामा थप कडाइका साथ व्यवस्थापन भइरहेको छ।
उनले बीबीसीसँग भने,”स्वास्थ्य मापदण्ड पालनासँगै मौजुदा ऐन कानुनबमोजिम नै जाँच गरिरहेका छौँ।”
आफूहरू गैरकानुनी ढङ्गबाट हुने आवतजावतबारे सचेत रहेको उनले बताए। तर समान वेशभूषाका कारण अवैध रूपमा नेपाल छिर्ने तेस्रो देशका मानिस ठम्याउन गाह्रो भएको उनको कथन छ।
कार्तिक ८ गते भारतको दिल्लीबाट सुनौली हुँदै बेलहिया नाकामार्फत् प्रवेश गरेका ११ जना अफगान नागरिक पक्राउ परेका थिए।
उक्त नाकाबाट स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने गरेको बताइन्छ।
घटना सार्वजनिक भएपछि नेपालगन्जको जमुनाह नाकामा पनि सुरक्षा जाँच कडा गरिएको छ। अवैध आगमन रोक्नका लागि उच्च सतर्कता अपनाएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। “देशभरिकै सीमानाकामा कडाइ गरिएको छ। हालसम्म कोही पाइएको छैन। तर कुनै पनि अफगान नागरिक भिसाबिना प्रवेश नगरून् भनेर निगरानी बढाइएको हो,” खत्रीले भने।