अमेरिका, बेलायत र अस्ट्रेलियाबीच ४० अर्ब डलर बराबरको पनडुब्बी सम्झौता रद्द गरिएपछि रिसाएका फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् । फ्रान्सले अस्ट्रेलियासँग पनडुब्बी निर्माणको सम्झौता गरेको भए पनि अस्ट्रेलियाले अन्तिम समयमा आएर धोका दिएको थियो ।
मोदी र म्याक्रोंको संयुक्त बयानमा उल्लेख गरिएअनुसार, हिन्द प्रशान्त क्षेत्रमा भारत र फ्रान्सबीच सहयोगको कुराकानी भएको छ ।
विश्लेषकहरूले अकिस सम्झौताका कारण फ्रान्सले अत्याधुनिक आणविक पनडुब्बी बनाउन सहायता गर्न सक्ने बताएका छन् । त्यसले चीनको जलसेनासँग टक्कर लिन सक्नेछ ।
मोदी र म्याक्रोंबीच मंगलवार फोनमा कुराकानी भएको हो । भारतको रणनीतिक स्वायत्ततालाई बलियो बनाउन सहयोग गर्ने म्याक्रोंले बताए । उद्योग र अत्याधुनिक प्रविधिमा संयुक्त काम गर्ने उनले बताए ।
हिन्द महासागरमा चिनियाँ जलसेनाको चुनौतीलाई समाना गर्न भारतले आफ्नो रणनीतिक क्षमता विकास गर्न खोजिरहेको छ । भारत अब दोस्रो विमानवाहक युद्धपोत भन्दा पनि ६ वटा आणविक पनडुब्बी बनाउन चाहन्छ । अहिले भारतले रुससँग पनडुब्बी लीजमा लिन खोजेको छ ।
भारतले अरिहन्त आणविक पनडुब्बी बनाएको छ र त्यसमा रुसले सहायता गरेको छ । आणविक ऊर्जाबाट चल्ने ब्यालिस्टिक क्षेप्यास्त्र भएको पनडुब्बी पानीमा सुस्त गतिमा चल्छ ।
भारतले प्रतिघन्टा ३०–३५ नटको गतिमा चल्ने अट्याक आणविक पनडुब्बीको खोजी गरिरहेको छ । यसका लागि भारतलाई शक्तिशाली रियाक्टर र बढी दबाब झेल्ने क्षमता भएको प्रविधिको आवश्यकता छ ।
भारतको यस आवश्यकतालाई पूरा गर्नका लागि फ्रान्स राम्रो विकल्प हो । अमेरिकाले भारतलाई यो प्रविधि दिन सधैं अस्वीकार गर्ने गरेको छ ।