प्रायः १५०० भाजपा समर्थकहरू तृणमूलमा सामेल

विधानसभा चुनाउ पश्चात सत्तारूढ़ तृणमूल कङ्ग्रेस अलिपुरद्वार जिल्लाको ५ वटा विधानसभा आसनहरूमा पराजित बन्न परे तापनि सत्तामा भने पूर्ण बहुमतमा तृणमूल सरकारको गठन भएपछि भाजपा नेता अनि समर्थकहरूमा नैराश्य छाएकोले धमाधम भाजपा छोड़ेर तृणमूलमा सामेल हुने क्रम चलिरहेकोबीच अलिपुरद्वार र जलपाइगढी जिल्लामा दिनहुँ तृणमूलमा सामेल कार्यक्रम चलिरहेको देखिन्छ आज यसै क्रममा कालचिनी खण्डको भारत भोटाङ सिमान्त सहर जयगाउँमा एक नम्बर अञ्चलका प्रायः १५०० जति भाजपा औ गोजमुमो समर्थकहरू तृणमूलमा सामेल भएको तृणमूल जयगाउँ एक नम्बर अञ्चल सभापति सुभाष लामाले दाबी गरेका छन् । आज सो सामेल कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा लगायत जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, पर्यवेक्षक शम्भू जयसवाल, रामकुमार लामा, रजब अली, कमल पाखरीन एवम् अन्यान्य नेतृत्वहरूको उपस्थितिमा एक नम्बर अञ्चलबाट दीर्घ दिनदेखि भाजपामा रहेका प्रायः १५०० परिवारहरू स्थानीय भाजपा नेता नवीन छेत्रीको नेतृत्वमा सामेल भएको तृणमूल सुत्रले जनाएका छन् ।

उक्त अवसरमा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले मुख्यमन्त्री ममता ब्यानर्जीको विकासमूलक कार्यहरूबाट प्रभावित भएर जनताको समर्थन तृणमूलमा आइरहेको र तृणमूलमा आउने सबैलाई स्वागत रहेको तर भोटमा भाका नफेरि दिने कटाक्ष आह्वान पनि पासाङ लामाले गरेका थिए ।तिनले भोटको बेला शरीर सबै तृणमूलको तर भोट हाल्ने औंली मात्र भाजपाको भनेर हल्ला चलेको जस्तो नभएर सबै तन मन धनले मुख्यमन्त्री तथा जननेत्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीमाथि भरोसा राखेर साँचो मनले पार्टीमा आउने निवेदन पनि गरेका थिए । सामेल कार्यक्रम पश्चात पत्रकारहरूसितको कुराकानीमा ब्लक सभापति पदलाई लिएर कुनै विवाद नरहेको र कुरा माथिल्लो कमानबाट स्पष्ट भइसकेको र तृणमूलमा कुनै गुटबाजी नरहेको बताउँदै ठूलो घरानामा वाद विवाद बेला बखतमा चर्किनु स्वाभाविक हो र घरभित्रको कुरा घरमा नै मिल्ने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *