अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र: आईएसएसमा ‘ससाना चिरा’, ‘कामै नलाग्ने’ बन्न लागेको रुसको चेतावनी

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस पुराना पार्टपुर्जाका कारण कामै नलाग्नेगरी बिग्रिन सक्ने चेतावनी एक रुसी अधिकारीले दिएका छन्।

आईएसएसको रुसी भागमा रहेका ८० प्रतिशत उडानसम्बन्धी प्रणालीका उपकरणहरूको म्याद गुज्रिएको भ्लादिमिर सोलोभ्योभले सरकारी सञ्चारमाध्यमलाई बताएका छन्।

उनले आईएससमा ससाना चिरा पनि देखा परेका र ती भविष्यमा खराब हुँदै जान सक्ने बताए।

रुसले पार्टपुर्जाबारे बेलाबेलामा चिन्ता व्यक्त गर्दै सन् २०२५ पछि आईएसएस छोड्न सक्ने बताउने गरेको छ।

सन् १९९८ मा रुस, अमेरिका, क्यानडा, जापान र केही युरोपेली देशहरूको संलग्नतामा आईएसएस निर्माण गरिएको थियो।

त्यतिबेला यो १५ वर्ष टिक्ने बताइएको थियो।

आईएसएसको रुसी भागको निर्माणमा नेतृत्व लिएको अन्तरिक्ष कम्पनी एनर्जियाका प्रमुख इन्जिनियर सोलोभयोभले भने, “उडान प्रणाली काम गर्न छोड्नेबित्तिकै मर्मत गर्नै नसकिनेगरी बिग्रिने क्रम सुरु हुनसक्छ।”

उनले गत वर्ष पनि आईएसएसका उपकरणहरूको म्याद सकिन लागेको र फेर्नुपर्ने बताएका थिए। उनी पूर्वअन्तरिक्षयात्री हुन्।

उनले रुसी भागको जार्या मालवाहल मोड्यूलमा ससाना चिरा परेको घोषणा गरेका थिए। सो मोड्यूल सन् १९९८ मा पठाइएको थियो र हाल त्यसलाई सामान राख्न मात्रै प्रयोग गरिन्छ।

“यो नराम्रो हो र यी चिरा समयसँगै बढ्दै जान्छन्,” उनले आरआईए समाचारसंस्थालाई बताएका छन्।

गत एप्रिलमा रुसमा उपप्रधानमन्त्री युरी बोरिसोभले सरकारी टीभीलाई आईएसएसका खिइएका पाताहरूका कारण दुर्घटना हुनसक्ने बताउँदै त्यस्तो हुन दिन नहुने बताएका थिए।

रुसी अन्तरिक्ष निकायले गत वर्ष पुरानो भएका कारण सन् २०३० उता आईएसएस सञ्चालन गर्न नसकिने बताएको थियो।

हालैका वर्षहरूमा बजेट कम गरिएका र भ्रष्टाचार काण्डहरूका कारण रुसको अन्तरिक्ष कार्यक्रम प्रभावित बनेको छ।

तथापि रुसले शुक्र ग्रहमा पुग्ने अभियान, अन्तरिक्ष गएर फर्किन सक्ने रकेट निर्माण र आगामी वर्ष चन्द्रमाको सतहमा पुग्ने अभियान घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *