अफगानिस्तानबाट अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेपछि त्यहाँ मच्चिएको अव्यवस्थाले विश्वमा अब अमेरिकी प्रभुत्व अन्त्य भएको टिप्पणीहरू गरिन थालेका छन् ।
अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट हटाउने भनी राष्ट्रपति जो बाइडनले घोषणा गरेलगत्तै तालिबानले देशमा एकपछि अर्को गर्दै द्रुत गतिमा विजय प्राप्त गर्यो । अमेरिकाले आफ्ना सबै नागरिकलाई सुरक्षित रूपमा त्यहाँबाट बाहिर निकाल्न सकेको छैन र त्यसका लागि अगस्ट ३१ पछि पनि बसिरहनुपर्ने बताएको छ । तर तालिबानले अगस्ट ३१ को भाखा नघाएर एक दिन पनि बढी अमेरिका अफगानिस्तानमा बस्दा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अफगानिस्तान छोड्न खोजेका केही अमेरिकी नागरिकलाई तालिबानले कुटपिट गरेको अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन आफैंले स्वीकार गरेका छन् ।
अमेरिकाले सैनिक फिर्ता लगेपछि उसको नेतृत्वमा रहेको नेटोका अन्य सदस्य मुलुकले अफगानिस्तानमा आफ्ना सैनिक राखिरहन सक्ने अवस्था छैन । त्यसैले फुक्काफाल भएर तालिबानले देश नियन्त्रणमा लिइरहँदा उसको शासनबाट भाग्न चाहनेहरू अनेकौं पीडा खेप्दै काबुल विमानस्थलमा भेला भएका छन् । त्यहाँ भीड अव्यवस्थित भएकाले २० जनाले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।
यसरी अमेरिकाले अफगानिस्तानमा राष्ट्रनिर्माणको अभीष्ट पूरा गर्न नसक्दा तथा आफ्ना नागरिकलाई सुरक्षित बहिर्गमन (इभ्याक्युएसन) गराउन सफलता नपाउँदा ऊ अब विश्वको प्रभुत्वशाली शक्ति नरहेको देखिएको छ ।
द गार्डियन पत्रिकामा परराष्ट्र मामिला टिप्पणीकार साइमन टिस्डालले ‘आफ्टर अफगानिस्तान, द प्याक्स अमेरिकाना इज ओभर – याज इज नेटो । अबाउट टाइम टू’ शीर्षकको लेखमा प्याक्स अमेरिकानाको छविमा गम्भीर दाग लागेको दाबी गरेका छन् । उनी लेख्छन्, ‘अमेरिकाको नेतृत्वले यस्तो स्थिति ल्याउँछ भने उसको नेतृत्वलाई अरूले किन मान्नु ? हुन पनि अमेरिकाको थिचोमिचो शैलीको सम्बन्धले जहिले पनि आँसु र पीडा मात्र ल्याउँछ ।’
त्यस्तै भारतका प्रखर रणनीतिक टिप्पणीकार ब्रह्मा चलानीले प्रोजेक्ट सिन्डिकेटमा ‘प्याक्स अमेरिकाना डाइड इन काबुल’ शीर्षकको लेखमा अमेरिकी हैकमको अन्त्येष्टि भएको लेखेका छन् । अफगान सुरक्षाबल तथा अफगान सरकार तासको पत्ता झैं ढल्नुमा अमेरिकाको धोका जिम्मेवार रहेको ठोकुवा उनले गरेका छन् । अफगान सुरक्षाबललाई स्वतन्त्र रूपमा सुरक्षाको जिम्मेवारी लिनसक्ने गरी तालिम नदिइकनै अमेरिकाले हात झिकिदिँदा खतरनाक आतंकवादीहरू हावी भएको उनको तर्क छ । अब अमेरिकाको अनुपस्थितिको फाइदा चीनले उठाउने उनी उल्लेख गर्छन् ।
के हो यो प्याक्स अमेरिकाना जसको अन्त्य भएको संकेत अफगानिस्तान घटनाले दिएको छ ? दोस्रो विश्वयुद्धको अन्त्यपछि सोभियत खेमाविरुद्ध उभिनका लागि विभिन्न मुलुकलाई फकाउन अमेरिकाले आफ्नो तत्त्वावधानमा विश्वव्यापी शान्ति (प्याक्स अमेरिकाना) को प्रस्ताव गरेको थियो ।
आफ्ना साझेदार तथा सहयोगी मुलुकलाई शान्ति र समृद्धिको प्रत्याभूति गराउनका लागि अमेरिकाले गरेको सुरक्षा प्रतिबद्धताको यो प्रस्तावका कारण चीन लगायत धेरै मुलुकहरूले आ–आफ्नो अर्थतन्त्र उकासेका हुन् ।
सोभियत संघको पतनसँगै शीतयुद्ध अन्त्य हुँदा अमेरिकाको एकध्रुवीय व्यवस्था कायम भयो । अमेरिकाको त्यस एकध्रुवीयतालाई चुनौती दिन अर्को महाशक्ति राष्ट्र जन्मिनसकेको अवस्थामा गैरराज्य शक्ति अर्थात् आतंकवादीहरूले चुनौती दिए ।
त्यो चुनौती सेप्टेम्बर ११ को घटनाका रूपमा विस्फोट भयो । त्यो घटना गराउने अलकायदा संगठनका प्रमुख ओसामा बिन लादेन अफगानिस्तानमा लुकेर बसेका थिए । उनलाई आफूसमक्ष सुम्पिनका लागि तालिबानलाई अमेरिकाले आग्रह गरेको थियो ।
उसले नमानेपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्यो अनि तालिबानलाई सत्ताच्युत तथा अलकायदालाई छिन्नभिन्न बनाउन सक्यो । तर आफ्नो तात्कालिक अभीष्ट पूरा भएपछि पनि अमेरिका त्यहाँ बसिरह्यो र प्याक्स अमेरिकानाको पतनको बाटो खोल्यो । अझ पछि इराकमा व्यर्थको लडाइँमा होमिएर अमेरिकाले उक्त पतनको गतिलाई थप बढायो ।
अमेरिका तात्कालिक अभीष्ट पूरा भएपछि पनि राष्ट्रनिर्माणको नाममा किन अफगानिस्तानमा बसिरह्यो ? खासमा रुस र चीनलाई सन्तुलनमा राख्न मध्य एसियामा आफ्नो दह्रो उपस्थिति कायम रहोस् भन्ने उद्देश्यले आफूअनुकूलको शासन अफगानिस्तानमा बहाल गर्न अमेरिकाले खोजेको थियो । भूरणनीतिक रूपमा अफगानिस्तान अमेरिकाको त्यस अभीष्टपूर्तिको उम्दा स्थान थियो ।
तर त्यसरी रणनीतिक प्रतिस्पर्धाका लागि अफगानिस्तानलाई आफ्नो साझेदार बनाउने अभियानमा अमेरिका नराम्ररी चुकेको अहिलेको घटनाले प्रमाणित गरेको छ । देशका सबै समूहले साझा रूपमा नस्वीकारेको व्यक्तिलाई कठपुतली राष्ट्रपति बनाएर राष्ट्रनिर्माणको अभियान सफल होला भनी सोच्नु नै अमेरिकाको भूल थियो ।
त्यो परियोजना विफल भएपछि अहिले हतारहतार गरी त्यहाँबाट बाहिरिनु र दोष जति सबै अफगान सरकार तथा सुरक्षाबलमा थोपर्नुले अमेरिकाको विश्वसनीयतामा धक्का लगाउने काम गरेको छ । अमेरिकाले आफ्नो स्वार्थ मात्र हेर्छ, साझेदारहरूलाई अलपत्र छोडिदिन्छ भन्ने भाष्य अहिलेको प्रकरणले जबर्जस्त रूपमा स्थापित गरेको छ ।
अमेरिकाको यही कदमलाई लिएर चीनले अहिले ताइवानलाई चिढ्याइरहेको छ । चीनले ताइवानमा आक्रमण गरेको खण्डमा अमेरिका बचाउन आउने छैन, आए पनि अप्ठ्यारो पर्नेबित्तिकै अफगानिस्तानमा जस्तो गरी बीचैमा भाग्नेछ भनी चीनले गरेको दाबीमा दम देखिन्छ ।
तर अफगानिस्तानमा अमेरिकाको हार भयो भन्दैमा अमेरिकाले विश्वमा अब आफ्नो हस्तक्षेप रोकिहाल्छ त ? त्यस्तो अपेक्षा गर्नु भूल हुनेछ । फरेन अफेयर्स पत्रिकामा अघिल्लो साता प्रकाशित रबिन निब्लेटको लेख ‘फेलियर इन अफगानिस्तान वोन्ट वीकेन अमेरिकाज अलायन्सेज’मा उल्लेख भएअनुसार, अफगानिस्तानबाट निस्केर अमेरिकाले अब चीनको चुनौतीलाई सामना गर्न खोजिरहेको छ र युरोपेली साझेदारहरूसँग मिलेर आफ्नो रणनीतिलाई सफल पार्न चाहेको छ ।
अफगानिस्तानमा नअल्झिकन अन्य महत्त्वपूर्ण स्थानमा अमेरिकाको दृष्टि रहेको उनी लेख्छन् । शीतयुद्धकालमा भियतनामबाट पनि अमेरिका अहिले अफगानिस्तानबाट निस्केको जस्तै गरी पलायन भएको भए पनि पछिसम्म आर्थिक तथा भूराजनीतिक प्रभुत्व कायम राख्न सफल भएको उदाहरण निब्लेटले दिएका छन् ।
त्यस्तै हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक स्टिफन वाल्टले फरेन पोलिसी पत्रिकामा शनिवार प्रकाशन गरेको लेख ‘अफगानिस्तान ह्याजन्ट ड्यामेज्ड यूएस क्रेडिबिलिटी’मा उल्लेख भएअनुसार, भियतनाम युद्ध, इरानमा आफूअनुकूलका राजाको पतन, सोमालियाबाट बहिर्गमन वा इराकको असफल युद्धपछि पनि अन्य मुलुकले अमेरिकामा विश्वास गरिरहे र उसको समर्थनलाई महत्त्व दिइरहे । अफगानिस्तानपछि त्यही कुरा दोहोरिँदैन भन्ने कुनै प्रत्याभूति गर्न नसकिने वाल्टको आशय छ ।
अफगानिस्तानमा बेहोरेको हारपछि अमेरिकाले विश्वबाट आफ्नो सम्पर्क टुटाउने कल्पना गर्न सकिन्न तर परराष्ट्रनीतिमा परिवर्तन वा सुधार ल्याउने सम्भावना देखिन्छ । अमेरिका इज ब्याक भनेर बाइडनले युद्ध भन्दा पनि कूटनीति, सफ्ट पावर, प्राविधिक विकास, सूचना संकलन लगायतमा अमेरिकाको चासो रहेको संकेत गत फेब्रुअरी ४ मा दिएको सम्बोधनमा पनि उल्लेख गरेका छन् ।
यसको तात्पर्य के हो भने सुरक्षाका लागि अमेरिकामाथि पूर्ण रूपमा आश्रित तथा आफ्नो पैसा कम खर्च गर्ने (जर्मनी, जापान, दक्षिण कोरिया लगायत) कतिपय साझेदारका लागि अमेरिका भरपर्दो मुलुक हैन । ती मुलुकमा आक्रमण भएको खण्डमा अमेरिका सहयोगका लागि त आउला तर तिनलाई उसले बीचैमा त्यागिदिने सम्भावना रहन्छ । त्यस दृष्टिकोणबाट हेर्दा चाहिँ प्याक्स अमेरिकाना अन्त्य भएको छ ।
यसरी अमेरिकाको एकध्रुवीय प्रभुत्व अन्त्य भएर बहुध्रुवीय व्यवस्थाको निर्माण भइरहनु स्वागतयोग्य पनि छ ।