रोकिएन भारत फर्कनेको लर्को

 रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए । केही महिना घर–गाउँमै रहे तर आर्थिक उपार्जन ठप्पजस्तै बन्यो । दैनिक गुजारा धान्नै समस्या हुन थालेपछि अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ । कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार पनि २ सय ८० जना नेपाली भारत पसे । जसमध्ये ५५ जना महिला छन् ।

त्रिनगर नाकाको तथ्यांकअनुसार कैलालीको लम्कीचुहा नगरपालिकाबाट मात्रै ३ दिनयता २ सय जना कामका लागि भारत गएका छन् । कोरोना महामारीका बीचमा भारतबाट आएका नगरवासीहरूको संख्या ६ हजार जति थियो । फर्किनेहरू गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको बताउँछन् ।

लम्कीचुहा नगर प्रमुख महादेव बजगाईंले तत्काल रोजगारी दिलाउन सक्ने अवस्था नहुँदा भारतबाट आएकाहरू पुनः फर्कन थालेको स्विकारे । ‘भारतबाट घर फर्कनेलाई लक्षित गरी स्वरोजगार कार्यक्रमका योजना त ल्याएका छौं,’ उनले भने, ‘७ हजार जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिने, ४ हजार बिघामा लसुन तथा अन्य व्यावसायिक तरकारी खेतीलगायतका थुप्रै कृषि र पशुपालनका कार्यक्रम पनि छन् । तर कोरोना महामारीले योजना सञ्चालन गर्न सकेका छैनौं ।’ स्थानीय स्तरमा उद्योग, व्यवसाय तथा निर्माण क्षेत्रसमेत ठप्प हुँदा सानातिना रोजगारीका अवसरसमेत गुमेको उनले बताए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *