केही वर्षअघि पहाडको साँघुरो बाटोमा गाडी चलाइरहेका बेला तर्ष थेकाएकरले एउटा भाले हात्ती आफूतिर आइरहेको देखे। “त्यहाँ फरक्क फर्किन ठाउँ नै थिएन, कार रोकर म बाहिर निस्केँ अनि पछाडि भागेँ,” थेकाएकरले बीबीसीसँग भने। यदि तपाईँ हात्तीनजिक जानुभयो भने तिनीहरूले आक्रमण गर्न खोजे जस्तो दौडेर आउन सक्छन् र यदि गाडीभित्र हुनुहुन्छ भने तिनीहरूले आक्रमण गरे जस्तो गर्छन्। “उनीहरूले भने ‘नडराउनुहोला हात्ती पनि गाईजस्तै हुन्छन्। पानी खानका निम्ति तिनीहरू आउँछन् र कुनै हानि पुर्याउँदैनन्’।”
अनि उनीहरू सही प्रमाणित भए।
थेकाएकरलाई आश्चर्य लाग्नेगरी हात्तीले केही गरेन र पानी जमेको खाल्डोतिर त्यो लाग्यो।
हात्तीसम्बन्धी अनुसन्धानकर्ता थेकाएकर दक्षिणी भारतको गुडालुर वन कार्यालयमा काम गरिरहेका थिए र घटनाका बेला उनलाई हात्तीको व्यवहार फरक लाग्यो र त्यसबारे उनले थप जान्न खोजे।
सामान्यतयाः केही दिनपछि तिनीहरू जङ्गल फर्किन्छन्।
तर दक्षिणी भारतमा त्यो हात्तीजस्तै धेरै हात्तीहरू मानिसहरूसँग मिलेर बस्न थालेका छन् र ठूला जङ्गलसँग जोडिएका सहरमा अधिकांश समय व्यतीत गर्न थालेका छन्। गुडालुर सहर र त्यससँग जोडिएका गाउँहरूमा गरी करिब साढे दुई लाख मानिस बस्छन्।
पाँच सय किलोमिटर जङ्गल क्षेत्रमा चिया र कफी खेती पनि पर्छ अनि करिब १५० वटा जङ्गली हात्ती सो क्षेत्रमा बस्छन्।
सहरमा बस्दाबस्दै गणेसनजस्तै कतिपय हात्तीको बानी यस्तो भइसकेको छ कि तिनीहरूको नजिक पटाका पड्काउँदा अथवा ढ्याङ्ग्रो ठटाउँदा पनि मानिसहरूतर्फ न दौडिँदै आउन खोज्छन् न त आक्रमण नै गर्छन्।
“मैले थाहा पाएका सबैकुराका विपरीत तिनीहरू देखिए,” थेकाएकर भन्छन्।
उनको खोजले हात्तीहरू आफ्नै तरिकाले मानिसहरूसँग मिलेर बस्न सिक्न सक्षम छन् भन्ने देखाउँछ।
पानी ट्याङ्कीबाट पानी पिउने, खानेकुरा चोर्ने तर कसैलाई हानि नपुर्याउने
गुडालुर हात्ती निरीक्षण कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता रहेका थेकाएकरले सो क्षेत्रमा बस्दै आएका सबै हात्तीबारे अध्ययन गर्ने निर्णय गरे र मानिसहरूसँग मिलेर बसिरहेका पाँचसहित ९० वटा जङ्गली जीवको विवरण उनले तयार पारे।
अध्ययनबाट के थाहा भयो भने सहरमा बस्दै आएका हात्तीहरू वृद्ध भाले हुँदा रहेछन् र तिनीहरूले कसरी खानेकुरा र पानी पाउने रहेछन् भन्नेबारे पनि अध्ययनबाट थाहा भयो।
“हामीले गणेसनलाई तीन वर्ष पछ्यायौँ। त्यो जङ्गलभित्र कहिल्यै गएन। त्यसले सबै समय मानिसहरूमाझ बिताउने रहेछ।”
“त्यो सधैँ सडकका छेउमा सुत्थ्यो। बसहरूमा त्यसले सुँड छिराउँथ्यो र कहिलेकाहीँ सिसाहरू फुटाउँथ्यो। केही टुकटुकमा पनि त्यसले आक्रमण गरेको थियो।”
गणेसनले घरहरूमा बनाइएका पानी ट्याङ्कीबाट पानी पिउने गर्थ्यो।
रिभाल्डो नाम गरेको हात्तीले एक व्यक्तिबाट कुखुराको बिर्यानी खोस्दै गरेको भिडिओ निकै भाइरल बनेको थियो र धेरैलाई त्यो अनौठो लागेको थियो।
तर थेकाएकरजस्ता हात्तीसम्बन्धी अनुसन्धानकर्ताले सजिलैसँग त्यसको वर्णन गर्न सक्छन्।
“सामान्यतया हात्तीहरूलाई भात र नुन मन पर्छ। कुखुराको बिर्यानी संयोग थियो,” थेकाएकर भन्छन्। हात्तीहरू शाकाहरी हुन्।
जङ्गली हात्तीहरूले अधिकांश समय खानेकुरा र पानीको खोजीमा बिताउँछन्।
थेकाएकरका अनुसार सहरी क्षेत्रमा तिनीहरूले दुई घण्टाभन्दा कम समयभित्र खानेकुरा फेला पार्छन्।
“जब तिनीहरूले बालीनाली र पकाइएका खानेकुरा खान्छन् त्यसमा क्यालोरी उच्च हुन्छ। अतः तिनीहरूले धेरै खाइराख्नु पर्दैन।”