हाइटीको प्रहरीले राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी आक्रमणकारीको एक समूहले गरेको दाबी गरेको छ। आक्रमणकारीहरुमा कोलम्बियाली पूर्व सैनिकहरुको संख्या धेरै भएको प्रहरीको भनाइ छ।
हाइटी प्रहरी प्रमुख लियोन चार्सले २६ कोलम्बियाली तथा हाइटी मूलका दुई अमेरिकी आक्रमणकारी राष्ट्रपतिको हत्यामा सहभागी भएको बताएको बीबीसीले जनाएको छ।
आठ संदिग्ध फरार छन् भने दुई अमेरिकीसहित १७ जनालाई गिरफ्तार गरिएको छ। बाँकी संदिग्ध प्रहरी कारबाहीमा राजधानी पोर्ट ओ प्रिन्सको भिडन्तमा मारिएका थिए।
बिहीबार हाइटी प्रहरीले केही आरोपीलाई सार्वजनिक गरेको छ। उनीहरुसँग हतियार कोलम्बियाली पासपोर्ट र अन्य प्रमाण थिए। प्रहरी प्रमुखले भने, “राष्ट्रपतिको हत्याका लागि विदेशी हाम्रो देशमा आए।”
कोलम्बियाली सरकारले आक्रमणकारीको दस्तामा कम्तिमा पनि ६ सदस्य आफ्नो देशका रिटायर्ड सैनिक रहेको हुनसक्ने बताएको छ। उसले जाँचमा हाइटीलाई पूरा सहयोग गर्ने जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म आफ्नो कुनै पनि नागरिक हिरासतमा भएको पुष्टि गरेको छैन।
यो हप्ता बुधवार बिहान केही बन्दुकधारीले राष्ट्रपति मोइजको आवासमा प्रवेश गरेर गोली चलाउन सुरु गरेका थिए।
राष्ट्रपति मोइजको घटनास्थलमा नै मृत्यु भएको थियो भने उनकी पत्नी मार्टिन घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अमेरिकाको फ्लोरिडा लगिएको छ। उनकोस्थिति स्थिर रहेको बताइएको छ।
अहिलेसम्म आक्रमणको योजना कसले बनायो र यसको पछि के उद्देश्य थियो भन्ने थाहा हुन नसकेको जनाइएको छ।
हाइटीका अन्तरिम प्रधानमन्त्री क्लड जोसेफले बीबीसीसँग बताए अनुसार राष्ट्रपति देशमा प्रभाव राख्ने केही ‘ठूला वर्ग’सँग लडिरहेका थिए।