भूमध्यसागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासी इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन्

१२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।
लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्यसागरको फाइदा उठाउँदै ठूलो सङ्ख्यामा आप्रवासी इटाली पठाएको बताउनुभएको छ ।
लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिनुभयो । यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यति ठूलो सङ्ख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो ।
मेयर मार्टेल्लोले प्रधानमन्त्री मारियो ड्रागीसमक्ष कोभिड–१९ महामारीका कारण इटालीको अर्थतन्त्रमा परेको असर र सामाजिक पुनर्जीवनलाई मात्र बढी ध्यान केन्द्रित नगरी आप्रवासनलाई पनि प्राथमिकतामा राख्न अपिल गर्नुभएको छ ।
अपराह्नसम्ममा आप्रवासीले खचाखच भरिएका कम्तीमा नौ वटा डुङ्गा लाम्पेडुसामा आइपुगेका थिए । यहाँ आप्रवासीको दर्ता र शरणका लागि अनुरोध गर्ने व्यवस्था छ ।
इटालीका संचार माध्यमहरुले भूमध्यसागरमा केही माइलभित्र देखापरेका यी डुङ्गालाई इटालीका तटरक्षकले लाम्पेडुसा द्वीपतर्फ ल्याएका थिए । लाम्पेडुसा खासगरी पर्यटन र माछा मार्न प्रख्यात टापु हो । यो ठाउँ इटालीको मुख्य भूभागभन्दा निकै टाढा, तर उत्तरी अफ्रिकासँग बढी नजिक छ ।
सिसिलीस्थित एक अखबार इल जियोरनाल डी सिसिलियाले आप्रवासीहरु काठ वा धातुले बनेको डुङ्गामा चढेर आएको लेखेको छ । यीमध्ये अधिकांश आप्रवासीहरु बंगलादेश र ट्युनिसियाबाट आएको बताइएको छ । अधिकांश आप्रवासी पुरुषहरु रहे पनि केही महिला र बालबालिका पनि छन् ।
शरणार्थीहरुले इटाली हुँदै युरोपका अन्य देशमा शरण लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *