बुर्किनाफासोका सुनखानीमा मानव तस्करको बिगबिगी

मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु–याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौं पुरुषसँग रात बिताउनुपरेको छ ।
पश्चिम अफ्रिकाको भूपरिवेष्ठित गरिब राष्ट्र बुर्किनाफासोकी ब्लेसिङलाई सैलुनमा काम मिलाइदिन्छु भनेर लोभलालच देखाएर फसाउने एक महिलाले ब्लेसिङलाई भाग्ने कोसिस गरे मारिदिने धम्की दिएकी थिइन् ।
“अब कोही पनि तिमीलाई उद्धार गर्न आउँदैन,” हालै अन्तर्वार्ता लिने क्रममा आँखाबाट रसाएका आँसु पुछ्दै ब्लेसिङले आफ्नो पीडा सुनाइन् ।
सन् २०१९ डिसेम्बरमा आफूलाई कब्जामा राख्ने महिला कतै लागेको मौका छोपेर ब्लेसिङ ठूलो साहसका साथ त्यस काठकोठरीबाट भाग्न सफल भइन् । स्थानीय बासिन्दाको सहयोगमा उनी र अरु छ जना महिला त्यहाँबाट भाग्न सफल भए । उनीहरु अन्ततः राजधानी औगाडोगुमा रहेको आप्रवासीका लागि खोलिएको राष्ट्रसङ्घीय केन्द्रको शरणमा पुगेका थिए ।
सुनखानीका शिविरमा थुनिनुपर्दाको ब्लेसिङको अनुभव नौलो भने होइन ।
यौन तस्करी र सुनखानी उद्योगका बारेमा एसोसिएटेड प्रेस (एपी) ले गरेको महिनौं लामो अनुसन्धानका क्रममा झण्डै २० जना नाइजेरियाली महिलालाई एपीले भेटेको थियो । यी महिलालाई झुटो लोभ देखाएर बुर्किनाफासो ल्याइएको थियो, र त्यसपछि जबर्जस्ती बेश्यावृत्तिमा लगाइएको थियो । आफ्नो सुरक्षाका कारण नाम नबताउने शर्तमा ब्लेसिङले झैं कतिपय महिलाले यस्तै कथाव्यथा बोकेका सयौं महिलालाई आफूहरुले चिनेको बताएका थिए ।

एपीले यी महिलाका कथाहरु सही हुन् वा होइनन् भनेर धेरैसँग अन्तर्वार्ता  लिएको थियो जसमा सहायताकर्मीहरु, वकिलहरु, प्रहरी, स्थानीय मानव तस्करी प्रतिरक्षा समूहहरु, स्वास्थ्यकर्मीहरु, एक जना मानव तस्कर र बुर्किनाफासोका धेरैवटा शहरमा रहेका नाइजेरियाली समुदायका सदस्यहरु सहभागी थिए ।

मानव तस्करीका बारेमा जानकार मानिसहरुले अधिकांश महिलाहरु नाइजेरियाको एडो राज्यबाट आउने गरेका बताएका थिए । उनीहरुलाई बुर्किना फासोका पसलहरु वा सैलुनमा राम्रो कमाई हुने भन्दै प्रलोभनमा पार्ने गरिएको थियो । एक पटक यहाँ आइसकेपछि उनीहरुलाई स–साना सुनखानीहरुमा पठाइने गरिन्थ्यो ।

बुर्किनाफासो र नाइजेरिया दुबै देशले अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको राष्ट्रसङ्घीय अभिसन्धिमा हस्ताक्षर गरेका भए पनि दुबै देशले मानव तस्कर विरुद्ध लड्न संयुक्त योजना नै बनाएका छैनन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *