कोरोना महामारीका बाबजुद विश्व अर्थतन्त्रमा व्यापक सुधार आउने आईएमफ ले पूर्वानुमान गरेको छ

कोरोनाले थला परेको बेलायत, अमेरिका र अन्य पश्चिमा मुलुकको अर्थतन्त्र आकलन गरिएभन्दा राम्रो हुने आईएमफको पूर्वानुमान छ ।

आईएमफले गत जनवरीमा महिनामा गरेको बेलायत र विश्व अर्थतन्त्रसम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो । आईएमफको अर्धवार्षिक वर्ल्ड इकोनोमिक आउटलुक(डब्लूईओ) मा कोरोना भाइरसविरुद्धको खोप अभियान, चुनौतीका बीच व्यवसायको निरन्तरता र अमेरिकामा कोरोनाको प्रभावबाट माथि उठ्न जो बाइडेनले छुट्याएको १.४ ट्रिलियन अमेरिकी डलरको प्याकेजका कारण विश्व अर्थतन्त्रममा व्यापक सुधार हुने बताइएको छ ।

आईएमएफले २०२१ मा विश्व अर्थतन्त्र ६ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि अक्टोबरमा आईएमफले सन् २०२१ मा ५.२ र सन् २०२२ मा ४.२ प्रतिशतले विश्व अर्थतन्त्र वृद्धि हुने बताएको थियो । त्यसपछि जनवरीमा आईएमएफले पुन: परिमार्जन गर्दै सन् २०२१ मा विश्व अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने बताएको थियो ।

कोरोना भाइरसका कारण सन् २०२० मा सबैभन्दा बढी प्रभावित भएको बेलायती अर्थतन्त्र सन् २०२१ र २२ मा भने माथि उठ्ने आईएमएफको अनुमान छ । यो वर्ष बेलायतको आर्थिक वृद्धि ५.३ प्रतिशत र सन् २०२२ मा ५.१ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । चालु र आगामी आर्थिक वर्षको पूर्वानुमान हेर्दा सन् २०२०–२० मा बेलायती अर्थतन्त्र जी–७ मुलुकमध्ये सबैभन्दा बलियो हुने देखिएको छ ।

त्यस्तै अमेरिकाको अर्थतन्त्र सन् २०२१ मा ६.४ र सन् २०२२ मा ३.५ प्रतिशतले वृद्धि हुने आईएमफको अनुमान छ ।

त्यस्तै आईएमफले आर्थिक वर्ष २०२१–२२ मा भारतको आर्थिक वृद्धिदर १२.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि जनवरीमा आईएमएफले भारतको अर्थव्यवस्थामा ७.५ प्रतिशतको वृद्धि हुने बताएको थियो । त्यस्तै सन् २०२२ मा भारको अर्थतन्त्र ६.९ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

त्यस्तै चीनको अर्थतन्त्र सन् २०२१ र २२ मा क्रमश: ८.४ प्रतिशत र ५.६ प्रतिशतले वृद्धि हुने पनि आईएफको अनुमान छ । त्यसैगरी न्यून आय र विकाशशील मुलुकको अर्थतन्त्र सन् २०२१ मा ४.३ प्रतिशत र सन् २०२२ मा ५.२ प्रतिशतले वृद्धि हुने आईएमएफको अनुमान छ ।

आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथले सन् २०२१ मा विश्वका अधिकांश मुलुकको अर्थतन्त्रमा सुधार आउने देखिनुको मुख्य कारण कोरोना भाइरसविरुद्धको खोप अभियान भएको बताएकी छिन् । कोरोना रोकथाम र नियन्त्रणमा पछि रहेका मुलुकको अर्थतन्त्रमा भने तत्काल सुधार देखिने सम्भावना न्यून रहेको पनि आईएमफको भनाइ छ ।

कोरोना महामारीले गर्दा विश्व अर्थतन्त्र नै जर्जर बनेको छ । चिनियाँ अर्थतन्त्र कोरोना महामारीपूर्वको अवस्थामै फर्किए पनि अन्य मुलुक भने सन् २०२३ अघि त्यो अवस्थामा नपुग्ने बताइएको छ । अर्थशास्ती गोपिनाथले अर्थतन्त्र पुरानै लयमा फर्किंदै गरे पनि ब्याज दरमा वृद्धि देखिनु चुनौतीपूर्ण भएको बताएकी छिन् । ‘हामीले तीव्र रुपमा रिकभरी भइरहेको र ब्याजदर बढ्दै गइरहेको देखेका छौँ । यदि ब्याजदर योभन्दा माथि पुग्छ भने विकाशशील र उदीयमान अर्थव्यवस्थामा नकारात्मक असर पुग्नेछ,’ गोपिनाथले भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *