२८ वर्षअघि बम्बईको कोठीमा महिला बेचेको आरोपमा पक्राउ

काठमाडौँ — प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले २८ वर्षअघिको महिला बेचबिखनको घटनामा भक्तपुरको सुडालबाट रामशरण पण्डितलाई पक्राउ गरेको छ । २०४९ सालतिर ठमेल क्षेत्रमा होटल तथा लजका निम्ती गाडी चलाउने रामशरणले त्यतिबेला बालाजु क्षेत्रका २० वर्षमुनिका दुई युवतीलाई बम्बईको कोठीमा ३५ हजार भारुमा बेचेको अभियोग छ ।

हिराको अवैध ओसारपसारको काममा लगाइदिने र एक पटक हिरा लुकाइछिपाई हिराको सिमापार गराएबापत ६ हजार भारु पाइने प्रलोभनमा पारेर उनले ती युवतीलाई बम्बई पुर्‍याएका थिए । बाध्यात्मक रुपमा यौन गतिविधिमा परेकी किशोरीले ६ महिनापछि एक पंजाबी मुलका ग्राहकमार्फत काठमाडौंमा रहेका आफ्ना मामालाई आफ्नो अवस्था बताएर पत्रचार गर्न सफल भएकी थिइन् । युवतीका मामाले पत्र पाएलगत्तै भारतीय प्रहरीमार्फत भान्जीको उद्धार गरेका थिए ।

काठमाडौं आएपछि युवतीले प्रहरी परिसर काठमाडौंमा २०४९ भदौ १२ गते रामशरणविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार आफूविरुद्ध जाहेरी परेको थाह पाएपछि रामशरण केही समय लुकेर बसेको र त्यसपछि वैदेशिक रोजगारीका निम्ती साउदी अरब पुगेको देखिन्छ । ब्युरोका अनुसार झण्डै १२ वर्ष साउदी अरबमा काम गरेर रामशरण २०६५ सालतिर नेपाल फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *