म्यान्मारका प्रदर्शनमा ६ जनाको मृत्यु

म्यान्मारको सैनिक सरकारविरोधी प्रदर्शनका क्रममा शनिबार कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार दोस्रो ठूलो सहर म्यान्डलेमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको हो । त्यसैगरी, प्याय सहरमा अन्य दुई प्रदर्शनकारीको ज्यान गएको हो । अमेरिका, भारत, अस्ट्ेरलिया र जापानको समूह क्वाडले म्यान्मारमा लोकतन्त्रको पुनर्बहालीका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएको केहीबेरमा ६ जना प्रदर्शनकारीको ज्यान गएको समाचार सार्वजनिक भएको हो ।

प्याय सहरमा घाइते बोकेर अस्पताल जाँदै गरको एम्बुलेन्सलाई सुरक्षाकर्मीले रोकेका थिए । ‘सुरुमा एम्बुलेन्सलाई सुरक्षाकर्मीले रोकेका कारण घाइतेको अवस्था गम्भीर भयो,’ एक २३ वर्षीय प्रदर्शनकारीले भने, ‘उनलाई पछि अस्पताल लान दिइएको भए पनि केहीबेरमै मृत्यु भयो ।’

म्यान्मारमा सेनाले फेब्रुअरी १ मा सत्ताकब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन् । हालसम्म भएका प्रदर्शनमा ७० जनाभन्दा बढीको ज्यान गइसकेको छ । दुई हजारभन्दा बढी पक्राउ परिसकेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार पक्राउ पर्नेमा सांसद, पत्रकार, अधिकारकर्मीसमेत छन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले घातक हतियार प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनललगायत मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *