चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने

चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका छन् । रुसी अन्तरिक्ष संस्था रोसकोस्मोसले चीनको नेसनल स्पेस एड्मिनिस्ट्रेसनसँग चन्द्रमाको सतह तथा बाहिरी कक्षमा अनुसन्धान सुविधाहरू विकास गर्नका लागि सहमति गरेको बीबीसीले
जनाएको छ ।

दुवै देशका अन्तरिक्ष निकायहरूद्वारा जारी एक विज्ञप्तिमा नयाँ बन्ने स्टेसन अन्य देशहरूले समेत प्रयोग गर्न सक्ने जनाइएको छ । रुसले पहिलो मानवयुक्त यान अन्तरिक्षमा पठाएको ६० औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेका बेला पछिल्लो योजना सार्वजनिक गरेको हो ।

दुई देशले निर्माण गर्ने इन्टरनेसनल साइन्टिफिक लुनर स्टेसनले चन्द्रमाको अध्ययन र उपयोग अनुसन्धानलगायत अन्तरिक्षसम्बन्धी विभिन्न काम गर्ने विज्ञप्तिमा उल्लेख छ । ‘चीन र रुसले अन्तरिक्ष विज्ञान, अध्ययन र विकासमा हासिल गरेको अनुभवका साथै अन्तरिक्ष प्रविधि र उपकरण प्रयोग गरेर इन्टरनेसनल साइन्टिफिक लुनर स्टेसन निर्माण कार्ययोजना तयार गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

चीनको अन्तरिक्ष कार्यक्रममा विज्ञता हासिल गरेका चेन लानले समाचार संस्था एपीसँग कुरा गर्दै अन्तरिक्ष स्टेसन निर्माण गर्ने पछिल्लो योजना निकै महत्त्वको भएको बताए । ‘चीनका लागि यो सबैभन्दा ठूलो अन्तरिक्ष सहकार्य योजना हो । त्यसैले यो निकै महत्त्वपूर्ण छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *