सिल्भालाई भ्रष्टाचार मुद्दामा सफाइ

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । सिल्भालाई सर्वोच्च अदालतका एक न्यायाधीशले उनी निर्दोष रहेको फैसला गरेका हुन् ।

अदालतको फैसलासँगै सिल्भालाई आगामी राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ । सिल्भा ‘अपरेसन कार वास’ नामक घूस काण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो । वामपन्थी नेता लुला सन् २०१९ मा १८ महिनाको कैद सजायपछि रिहा भएका थिए । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एड्सन फचिनले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका हुन् । उक्त घूस काण्डमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए ।

यसअघि सिल्भालाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचिबाको अदालतलाई उनीविरुद्धका ४ वटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फचिनले ती मुद्दाको सुनुवाइ राजधानी ब्रासिलियास्थित संघीय अदालतमा हुने फैसला गरेका छन् ।

सिल्भामाथि लागेका आरोप पुनः प्रमाणित नभएसम्म उनको राजनीतिक अधिकार पुनःस्थापित हुनेछ । त्यसको अर्थ सन् २०२२ को चुनावमा उनी वर्तमान राष्ट्रपति जइरु बोल्सोनारुविरुद्ध प्रतिस्पर्धा गर्न सक्नेछन् । अभियोजनकर्ताको कार्यालयले मुद्दाको पुनरावलोकन गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *