केजीएफ ग्याङबारे चलेको विवादमा यसपल्ट मेयर गौतम देवको नाम पनि जोड़िएको छ। गत 26 तारिख मेयरले आफ्नै फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरेका थिए। उक्त भिडियोमा मेयर केजीएफ ग्याङका थुप्रै सदस्यहरूसित हिँड़िरहेको देखिन्छ। ती सदस्यहरूमध्ये सेवक रोडको रामकृष्ण काण्डमा संलग्न प्रमुख आरोपीहरूमध्ये एकजनासमेत रहेको देखिन्छ। उक्त भिडियोको आधारमा शहरभर तीव्र चर्चा आरम्भ भएको छ। केजीएफ ग्याङबारे भइरहेको तीव्र विवादको बीचमा गौतम देवको उक्त भिडियोले वास्तवमा ग्याङ सदस्यहरूको पक्षमा उभिएको सन्देश दिन खोजिएको हो कि होइन भन्ने प्रश्न विपक्षी दलहरूले उठाउन थालेका छन्। विवादको विषय पुग्न साथ मेयर अत्यन्तै असहज अवस्थामा परेका छन्। सोही दिन साँझ हतारहतार तिनले उक्त भिडियो डिलिट गरे। यस विषयमा म तिनीहरूमध्ये कसैलाई पनि चिन्दिनँ भनेर मेयरले स्पष्टीकरण दिएका छन्। तिनीहरू कसरी त्यहाँ आए, त्यसबारे वार्ड समितिसित कुराकानी गर्ने पनि मेयर बताए। गौतम देवले भने, सेवक रोडको विषयमा कठोर कदम चाल्नका लागि मैले पहिल्यै पुलिस प्रशासनलाई निर्देस दिएको छु।
यसैबीच मेयरको पोस्टबारे विपक्षी राजनीतिक दलहरूले तीव्र स्वरमा विरोध गरिरहेका छन्। सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषले भने, शहर र शहर वरिपरिका क्षेत्रमा ग्याङ कल्चरको संरक्षण स्वयं मेयरले नै गरिरहेका छन् भनेर मैले सधैँ भनिरहेकै छु। लामो राजनीतिक जीवनमा तिनले कसरी ग्याङ कल्चरलाई प्राथमिकता दिए भन्ने विषय सोच्ने विषय अब म साधारण जनताको सोचमा छोड्दैछु।
नगर निगममा सीपाएमका परिषद दलनेता शरदिन्दु चक्रवर्तीले भने, रामकृष्ण मिशनका सन्न्यासीहरूलाई उठाएर लगिएको घटनामा मैले नगर निगमको बोर्ड बैठकमा कठोर विरोध गरेको थिएँ। तर त्यसै घटनाका प्रमुख आरोपीहरूमध्ये एकजनालाई गौतम देवको पेजमा सेयर गरिएको भिडियोमा देख्न पाइन्छ। यसभन्दा लज्जास्पद कुरा अरू केही हुन सक्दैन। वास्तवमा पूरै राज्यमा अहिले यस्ता भूमि माफिया ग्याङहरूको दादागिरी चलिरहेको छ। शासक दलको इशारामै यी सबै भइरहेको छ।
केजीएफ विवादमा मेयर गौतम देव
