प्रशान्त बर्मनको घरमा रहस्यमय समूह

सोमवार बिहान शिवमन्दिरस्थित एसपी शर्मा रोडमा रहेको प्रशान्त बर्मनको घरमा पाँचजनाको एउटा रहस्यमय समूह देखियो। दुईवटा गाड़ीमा केही ठूल्ठूला झोलाहरूमा धेरै सामग्री भरेर त्यस समूहले त्यहाँबाट हतारिँदै सुइँकुच्चा ठोक्यो। टाउकोमा पट्टी बाँधेको र निलो रङको मास्क लगाएको एक व्यक्ति पनि त्यस समूहमा थिए। त्यो व्यक्ति नै वास्तवमा प्रशान्त बर्मन हुन सक्ने अनुमान गरिएको छ। त्यसो भए के घरमा राखिएका गोप्य कागजात र नगद राशि निकाल्नकै लागि मुख छोपेर प्रशान्त बर्मन सिलगढ़ी आएका थिए? यस्तै प्रश्न अहिले उठिरहेको छ। सोमवार बिहान लगभग 11.30 बजी चारैतिर गणतन्त्र दिवसको कार्यक्रम चलिरहेका बेला त्यस रहस्यमय समूहले गेटको ताला खोलेर एसपी शर्मा रोडको घरभित्र प्रवेश गर्यो्। प्रत्यक्षदर्शीहरूअनुसार समूहमा बाउन्सर जस्तै देखिने चारजना व्यक्तिहरू पनि थिए। मुख छोपेको व्यक्ति दुईजनालाई साथमा लिएर घरभित्र पसे अनि बाँकी दुईजना गेटमै उभिएर पहरा दिइरहे। समूह तीस मिनटभन्दा बढ़ी समय घरभित्र बसेको बताइएको छ। त्यसपछि ही झोलाहरू गाड़ीमा राखेर तिनीहरू त्यहाँबाट गए। स्थानीय वासिन्दाहरूमध्ये केहीले मोबाइलले फोटो खिँच्ने प्रयास गर्दा पहरादारहरूले अवरोध गरेका आरोप छ। डरको कारण अरू कसैले पनि अघि बढ्ने साहस गरेनन्। मानिसहरूले झ्यालबाट हेर्न थालेपछि अवस्था असहज भएको बुझेर रहस्यमय समूह हतारिँदै भाग्दा घरको भुइँतलाको ढोका खुलै छाड़ेर गए। गेटमा रहेका दुईमध्ये एउटा ताला लगाउन पनि तिनीहरूले भुले। मङ्गलवार पनि घरको ढोका खुलै रहेको बताइएको छ।
कोचबिहारको बोकालिरमठ क्षेत्रमा प्रशान्त बर्मनको पुर्ख्यौली घर छ। सोमवार राति त्यहाँ पनि मास्क लगाएको र टाउकोमा पट्टी बाँधेको अवस्थामा प्रशान्त जस्तै देखिने एक व्यक्तिलाई देखिएको धेरैले दाबी गरेका छन्। त्यसपछि नै अड़कलबाजी आरम्भ भएको छ। त्यस रहस्यमय समूहले झोलामा के लिएर गयो? स्थानीय मानिसहरूको एक वर्गको शङ्काअनुसार गोप्य कागजात र नगद राशि निकालिएको हुन सक्छ। कानूनी प्रक्रिया सञ्चालन गर्न वा लुकेर बस्न, सबैका लागि अहिले प्रशान्तलाई धेरै पैसाको आवश्यकता छ। ब्याङ्कमार्फत कारोबार गर्दा तिनी फँस्न सक्ने भएकाले नै के नगद राशि लिएर गोप्य अड्डामा लुक्ने योजना बनाएका हुनसक्ने पनि आशङ्का गरिएको छ। यद्यपि यस विषयमा पुलिसले कुनै प्रतिक्रिया दिएको छैन। यस्ता कुनै जानकारी आफूहरूसित नरहेको पुलिस अधिकारीहरूले बताएका छन्।
स्वपन कामिल्या हत्याकाण्डको जाँच पहिल्यैदेखि नै विभिन्न प्रश्नले घेरिएको अवस्थामा प्रशान्तको घरमा भएको रहस्यमय आवतजावतले अनुसन्धानकर्तामाथि नयाँ दबाउ थपिएको छ। दिनको उज्यालोमै जनघनत्व भएको क्षेत्रमा भगौड़ा आरोपीको घरमा रहस्यमय समूह पुगेर झोलाभरि सामान लिएर गएको विषय पुलिसलाई थाहा नभए त्यो तिनीहरूको असफलता नै भएको ठानिने सुन कारीगरकी पत्नी ममता कामिल्याले बताएकी छन्। तिनले बताएअनुसार, सुप्रिम कोर्टको कुरा पनि त्यस बीडीओले मानेको छैन। पुलिसले त्यसबारे केही थाहा नपाएको हुनै सक्दैन। पुलिसले तिनलाई पक्राउ गरेर सजाय दिनुपर्छ। हामी पनि डरमा छौँ। तिनले हामीलाई पनि मार्न सक्छ।

By Piyali Poddar