राज्यका एक मन्त्रीलाई एसआईआर सुनुवाइको नोटिश पठाइएको निर्वाचन आयोगले जनाएको छ। एसआईआर नोटिशको खबर सार्वजनिक भएसितै राजनीतिक वृत्तमा हलचल आरम्भ भएको छ। एसआईआरलाई अगाड़ि राखेर भारतीय जनता पार्टीले उत्पीड़न गरिरहेको आरोप तृणमूल कङ्ग्रेसले लगाएको छ। यसपल्ट राज्यका मन्त्री ताजमुल होसैनलाई नोटिश पठाइएको छ। यसअघि तृणमूलका सांसद काकली घोष दोस्तीदारकी आमा, बहिनी र तिनका दुई छोरालाई पनि एसआईआर सुनुवाइको नोटिश पठाइएको थियो। राज्यको सत्तारूढ़ दलका थुप्रै विधायकहरू पनि यसबाट अछुतो रहेनन्। नोबल पुरस्कार विजेता अमर्त्य सेनपछि नेताजी सुभाषचन्द्र बोसका पनाति चन्द्र बोसलाई पनि सुनुवाइका लागि बोलाइएको छ।
हाल राज्यभरि एसआईआर सुनुवाइ प्रक्रिया चलिरहेको छ। राज्यका धेरै मानिसहरूलाई नोटिश पठाइएको छ। यस्तै अवस्था मालदा जिल्लामा पनि देखिएको छ। यस जिल्लाका प्रत्येक विधानसभामा धेरै मानिसहरूलाई सुनुवाइको नोटिश पुगेको छ। विभिन्न समयमा सुनुवाइ केन्द्रहरूमा मानिसहरूलाई हैरानी भएको घटनाहरू सतहमा आइरहेका छन्। एसआईआर सुनुवाइको कारण बारम्बार तनाउको अवस्था सिर्जना भइरहेको छ। मालदाको हरिश्चन्द्रपुर विधानसभामा मात्रै एक लाखभन्दा अधिक मानिसहरूलाई सुनुवाइको नोटिश पुगेको छ। उक्त विधानसभाका विधायक तथा राज्यका मन्त्री स्वयं ताजमुल होसैनलाई पनि सुनुवाइको नोटिश आएको छ। तिनका परिवारका अन्य सदस्यहरूलाई पनि नोटिश पठाइएको आरोप लगाइएको छ।
नोटिश आएपछि आफू अत्यन्त आक्रोशित भएको मन्त्री ताजमुल होसैनले बताए। तिनले भने, म सन् 1978 देखि राजनीतिमा छु। सन् 2006 मा पहिलोपल्ट विधायकको रूपमा चुनाउ लड़ेँ। चुनाउ आयोगले सबै कागजात जाँच गरेपछि मात्रै म चुनाउमा उभिन पाएको थिएँ। त्यति बेला कुनै त्रुटि भएको भए म चुनाउ नै लड्न पाउने थिइनँ। म तीनपल्ट विधायक भइसकेको छु। त्यसपछि पनि 2026 मा यस्तो नोटिश आउँछ भने सामान्य जनताको अवस्था कस्तो भइरहेको होला? बीएलओ सूत्रअनुसार, राज्यका मन्त्री र तिनका पिताको नाम सम्बन्धी कुनै गड़बड़ीका कारण तिनलाई सुनुवाइका लागि बोलाइएको हो।
एसआईआर नोटिशले क्षुब्ध राज्यका मन्त्री
