दलबाट छुट्टिएका हात्ती अन्ततः जङ्गलमा

जलपाइगढ़ी शहरमा मध्य रातिसम्म ताण्डव मच्चाएपछि अन्ततः वैकुण्ठपुर राजबाड़ीअघि दलबाट छुट्टिएको हात्तीलाई ट्रान्क्विलाइज गरियो। मङ्गलवार बिहानै उक्त हात्तीलाई वैकुण्ठपुर वन विभागअन्तर्गत सरस्वतीपुरको जङ्गलमा छोड़ियो। जलपाइगढ़ी वन विभागका विभागीय वनाधिकारी विकास विजयले जानकारी दिँदै भने, सोमवार बिहान करलाभ्याली चियाबारीमा प्रवेश गरेका तीनवटा हात्तीमध्ये यो हात्ती पनि एक थियो। ट्रान्क्विलाइज गरेपछि हात्तीको शारीरिक अवस्था जाँच गरी जङ्गलमा छोड़ियो। सोमवार बिहान दलबाट छुट्टिएर ती तीनवटा हात्ती जलपाइगढ़ी शहरबाट लगभग डेढ़ किलोमिटर टाढ़ा रहेको करलाभ्याली चियाबारीमा पसेका थिए। ती तीनमध्ये एउटा शावक चियाबारीको एउटा परित्यक्त खाल्डोमा खसेको थियो। पछि वनकर्मीहरूले उक्त शावकलाई उद्धार गरे। त्यसपछि वैकुण्ठपुर वन विभागका कर्मचारीहरूले तीनवटै हात्तीलाई एकैसाथ जङ्गलमा फर्काउने प्रयास गरे पनि त्यो प्रयास असफल भयो।
साँझपछि उद्धार गरिएको शावक 27 नम्बर राष्ट्रिय राजमार्ग पार गरी आनन्दचन्द्र कलेजको पछाड़ि रहेको सोसल फरेष्ट क्षेत्रमा प्रवेश गर्यो । यो खबर फैलिन साथ कलेज वरिपरिको क्षेत्रमा उत्साहित मानिसहरूको भीड़ जम्मा भयो। खबर पाएपछि घटनास्थलमा वैकुण्ठपुर र जलपाइगढ़ी वन विभागका अधिकारी तथा कर्मचारीहरू पुगे। नगरपालिकाका अध्यक्षदेखि कर्मचारीहरू समेत उपस्थित थिए। कोतवाली थाना पुलिस पनि आइपुग्यो। वन्यजन्तु तथा पर्यावरणप्रेमी संस्थाका सदस्यहरू पनि त्यहाँ थिए। शहरमा हात्ती पसेको खबर पाएपछि दुर्घटना टार्न अध्यक्ष सैकत चट्टोपाध्यायले मासकालाइबारी बजार बन्द गर्न निर्देश दिए। साथै कलेजअघि रहेको बेगुनटारीदेखि असम मोड़तर्फ जाने महत्त्वपूर्ण सड़कमा वाहनहरूको आवागमन नियन्त्रण गरियो। राति 10 बजीसम्म सोसल फरेस्ट क्षेत्रमा बसेपछि राति 11 बजीतिर हात्ती 21 नम्बर वार्डको एबीपीसी मैदानको पछाड़िबाट मासकालाइबारी क्षेत्रमा प्रवेश गर्योन। त्यहाँ एउटा घरको गेट तोड्दै करला नदी पार गरी 1 नम्बर वार्डमा छिर्योब।
हात्तीको आतङ्कको कारण चिसोको वास्ता नगरी वासिन्दाहरू घर छोड़ेर बाहिर निस्किए। परेश मित्र कोलोनी हुँदै करला नदीको किनारैकिनार मध्य राति हात्ती वैकुण्ठपुर राजबारीको पर्खाल भत्काउँदै भित्र पस्यो। अवस्था गम्भीर भएको बुझेर राजबाड़ी क्षेत्रमै वनकर्मीहरूले हात्तीलाई घेरेर ट्रान्क्विलाइज गरे। पछि बिहानै क्रेनको सहायताले डम्परमा चढ़ाएर हात्तीलाई जङ्गलतर्फ लगियो। यसपछि स्थानीय वासिन्दाहरूले राहतको सास फेरे।

By Piyali Poddar