अब केवल दुई दिनको प्रतीक्षा बाँकी छ। आगामी शुक्रवार मतिगढ़ामा देशकै सबैभन्दा ठूलो महाकाल मन्दिर निर्माण कार्यको शिलान्यास हुन गइरहेको छ। सबै विषय योजनाअनुसार रहे मन्दिरको शिलान्यास स्वयं मुख्यमन्त्री ममता ब्यानर्जीले गर्नेछन्। सोमवार मुख्यमन्त्रीका मुख्य आर्थिक सल्लाहकार हरिकृष्ण द्विवेदीसित भिडियो कन्फरेन्सपछि सिलगढ़ीका मेयर गौतम देवले यसबारे जानकारी दिएका हुन्। साथै तिनले बताएअनुसार देशकै सबैभन्दा ठूलो यस मन्दिरको शिलान्यास कार्यक्रममा सर्वसाधारणको ठूलो भीड़ आउने अपेक्षा गरिएको छ। त्यसका लागि पुलिस र प्रशासनले तयारी गरिरहेको छ। सिलगढ़ी शहरनजिकै उजानु मौजामा महाकाल मन्दिर निर्माण गरिनेछ। सम्बन्धित क्षेत्र मतिगढ़ा ब्लकअन्तर्गत पत्थरघट्टा ग्राम पञ्चायतको अधीनस्थ पर्छ। उक्त जमीनसितै 10 नम्बर राष्ट्रिय राजमार्ग, रेल लाइन तथा चम्टा नदी अवस्थित छन्। मन्दिर निर्माणका लागि जमीन सम्याउने कार्य आ रम्भ भइसकेको छ। यही स्थानमा 16 जनवरीको दिन मन्दिर निर्माण कार्यको शिलान्यास कार्यक्रम आयोजना गरिनेछ। यसका लागि मञ्च निर्माणको काम लगभग सम्पन्न भइसकेको छ। फलामको संरचनामा मञ्च तयार गरिँदैछ र भुइँमा प्लाइबोर्ड बिछ्याइनेछ।
यसै कार्यक्रमको तयारीबारे मुख्यमन्त्रीका मुख्य आर्थिक सल्लाहकारले दार्जीलिङ जिल्ला प्रशासनसित भिडियो कन्फरेन्समार्फत बैठक गरेका थिए। उक्त बैठकमा सिलगढ़ीका मेयर गौतम देव अनि महकुमा परिषदका सभाधिपति अरुण घोष, एसजेडीएका अध्यक्ष दिलीप दुग्गर, तृणमूल कङ्ग्रेस दार्जीलिङ जिल्ला अध्यक्ष (समतल क्षेत्र) सञ्जय टिबरेवाल, दार्जीलिङका जिल्लाधिकारी मनीष मिश्रलगायत अन्य अधिकारीहरू उपस्थित थिए। पछि मेयर गौतम देवले भने, यस विशाल मन्दिरको निर्माण कार्य वेस्ट बेङ्गल हाउसिङ इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशनले गर्नेछ। राज्य सरकारको निर्देशनअनुसार तिनीहरूले मन्दिरका लागि चिन्हित जमीनको झाड़ी सफा गरिसकेका छन् र माटो भरेर केही स्थान उच्च गरिएको छ। सम्बन्धित क्षेत्रको आफू स्वयंले पटक–पटक निरीक्षण गरिसकेको तिनले जानकारी पनि दिए। केही दिनअघि मुख्य सचिवले यस विषयमा बैठक गरेका थिए भने सोमवार हरिकृष्ण द्विवेदीले बैठक गरे। सम्भवतः मुख्यमन्त्री स्वयंले नै परियोजनाको शिलान्यास गर्नेछन्।
तीन महीनाअघि भयावह प्राकृतिक विपत्तिले तहसनहस बनेको दार्जीलिङ पहाड़ क्षेत्रमा मुख्यमन्त्री पुगेकी थिइन्। उक्त क्रममा पुनर्निर्माण कार्यको नेतृत्व तथा अवस्थाको समीक्षा गरेपछि तिनले महाकाल मन्दिरको अवलोकन गरेकी थिइन्। त्यो बेला तिनले सिलगढ़ीमा महाकाल मन्दिर निर्माण गर्ने घोषणा गरेकी थिइन्। मन्त्री परिषदबाट परियोजना स्वीकृत भएपछि राज्य सरकारले एउटा ट्रस्ट बोर्ड गठन गरेको छ। प्रशासनिक सूत्रअनुसार उजानु मौजामा चिन्हित उक्त जमीनको क्षेत्रफल 17 ऐकर रहेको छ। उक्त जमीन एसजेडीएअन्तर्गत रहेको र हालै राज्य सरकारलाई हस्तान्तरण गरिएको छ। मेयर देवले भने, मन्दिरको शिलान्यास कार्यक्रममा सिलगढ़ी, दार्जीलिङ र कालेबुङ पहाड़ी क्षेत्रका साथै कोचबिहार, अलिपुरद्वार, जलपाइगढ़ी र उत्तर दिनाजपुरबाट जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहनेछ। कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न पुलिस र प्रशासनले विस्तृत योजना तयार पारेको छ। दिघाको जगन्नाथ मन्दिरले पर्यटन उद्योगमा व्यापक प्रभाव पारेको उल्लेख गर्दै मेयरले महाकाल मन्दिर पनि उत्तर बङ्गालको पर्यटन उद्योगका लागि नयाँ माइलस्टोन बन्ने बताए। तिनले बताएअनुसार उक्त मन्दिर परिसरमा सांस्कृतिक केन्द्र पनि निर्माण गरिनेछ। देशकै सबैभन्दा ठूलो यस मन्दिरले सिलगढ़ीसहित सम्पूर्ण उत्तर बङ्गालको पर्यटन उद्योग र अर्थतन्त्रको स्वरूप नै परिवर्तन गर्नेछ।
शुक्रवार मतिगढ़ामा महाकाल मन्दिरको शिलान्यास
