सफारी पार्कमा पर्यटकहरूको उल्लेखनीय उपस्थिति

उत्तर बङ्गालको बङ्गाल सफारी पार्कमा सन् 2026 को नयाँ वर्षको पहिलो दिन पर्यटकहरूको अपार भीड़ देखियो। आधिकारिक सूत्रहरूअनुसार नयाँ वर्षको दिन 6600 भन्दा अधिक पर्यटकहरूले पार्कमा प्रवेश गरी जङ्गल सफारीको आनन्द लिए। यसकारण सम्पूर्ण सफारी परिसर पर्यटन गतिविधिले जीवन्त बनेको थियो।
नयाँ वर्षको अवसरमा पार्कले लगभग 10 लाख रुपियाँको राजस्व आर्जन गरेको बताइएको छ। तर पर्यटकको उल्लेखनीय भीड़ र वर्षको सुरुआत उत्साहजनक भए पनि पार्कले गत वर्षको नयाँ वर्षमा कायम भएको 11 लाख रुपियाँभन्दा बढ़ीको राजस्व रेकर्ड भने तोड्न सकेन। विशेष गरी क्रिसमसको समयमा पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि भएपछि यो वर्ष नयाँ रेकर्ड बन्ने अपेक्षा गरिएको थियो। तर परिणाम अपेक्षाअनुसार आएन। अधिकारीहरूअनुसार पर्यटक सङ्ख्या बढ़े पनि प्रति पर्यटक औसत आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ।
बङ्गाल सफारी पार्कका निर्देशक ई. विजय कुमारले क्रिसमस र नयाँ वर्ष दुवै दिन पार्कका लागि पर्यटक उपस्थिति हिसाबले राम्रो रहेको बताए। तिनले नयाँ वर्षको दिन पार्कले 10 लाख रुपियाँ राजस्व आम्दानी गरे पनि उच्च आम्दानीको अपेक्षा हुँदाहुँदै गत वर्षको रेकर्ड तोड्न नसकेको उल्लेख गरे। उत्तर बङ्गालको एकमात्र सफारी पार्क भएकाले नयाँ वर्षको दिन टाढ़ा टाढ़ाबाट पनि पर्यटकहरू यहाँ आइपुगेका थिए। पर्यटकहरू वन्यजन्तु अवलोकन गर्दै परिवार तथा साथीहरूसित वर्षको सुरुआत उत्सवका रूपमा मनाइरहेका देखिन्थे। पर्यटकहरूको ठूलो उपस्थिति देखेर व्यवस्थापन सन्तुष्ट भए पनि राजस्वमा आएको ह्रासले आगामी दिन पर्यटक आकर्षण र आम्दानी वृद्धि गर्न नयाँ रणनीतिहरूबारे छलफल आरम्भ गरिएको छ। पार्क प्रशासनले भविष्यमा नयाँ आकर्षणहरू थपिएपछि बङ्गाल सफारी पार्कमा पर्यटक सङ्ख्या अझै बढ्ने आशा व्यक्त गरेको छ।

By Piyali Poddar