शहरको देशबन्धु चित्तरञ्जन दास फ्लाइओभरनजिक 30 वर्षका एक युवकको रहस्यमय ढङ्गले मृत्यु भएको छ। मृत युवकको नाम सद्दाम हुसैन हो। तिनको घर सिलगढ़ीको डाङ्गीपाड़ा क्षेत्रमा थियो। सोमवार अबेर राति रक्ताम्मे अवस्थामा तिनको शव सिलगढ़ी थानाको एण्टी–क्राइम विङको गस्ती भ्यानले उद्धार गरेको थियो।
पुलिस सूत्रअनुसार उक्त राति गस्तीको क्रममा फ्लाइओभर छेउको सड़कमा रक्ताम्मे शव देखेपछि पुलिसले तुरुन्तै उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल लग्यो। मृत युवकको मोबाइल फोन र कागजातमार्फत परिवारसित सम्पर्क गरेर जाँचकर्ताहरूले जानकारी दिए। खबर पाएलगत्तै तिनका आफन्त तथा स्थानीय वासिन्दाहरू अस्पतालमा पुगे। परिवारका दाबीअनुसार, सद्दाम हिजो राति एउटा विवाह समारोहमा गएका थिए र राति लगभग 12 बजी घर फर्कने क्रममा कसरी यस्तो घटना भयो भन्नेबारे तिनीहरूले बुझ्न सकेका छैनन्। सद्दाम पूर्ण रूपले स्वस्थ थिए अनि त्यसैले तिनको मृत्यु रहस्यमय रहेको तिनीहरूको भनाइ छ।
शव रातभर सिलगढ़ी जिल्ला अस्पतालको मोर्गमा राखिएको थियो। मङ्गलवार दिउँसो सद्दामको शवलाई पोस्टमर्टमका लागि उत्तर बह्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। परिवारका सदस्यहरूसहित स्थानीय वासिन्दाहरूले पनि यस मृत्युलाई शङ्कास्पद मानिरहेका छन्। यसैबीच घटनाको छानबिन सिलगढ़ी थाना पुलिसले आरम्भ गरिसकेको छ। फ्लाइओभर वरपरका सीसीटीभी फूटेज जाँच भइरहेको पुलिस सूत्रको भनाइ छ। कम उमेरमै सद्दामको मृत्यु भएपछि पुरै क्षेत्रमा शोकको लहर छाएको छ। तिनले आफूपछि एक सानो बालक छोड़ी गएका छन्। पोस्टमर्टम रिपोर्टले नै मृत्युसित जोड़िएको रहस्यको वास्तविक कारण खोलिने विश्वास गरिएको छ।
सिलगढ़ीमा फ्लाइओभरनजिक युवकको संदिग्ध मृत्यु
