राज्यमा चलिरहेको सरकारी लटरी होइन कोचबिहारको दिनाहाटामा सिङ्गल डिजिट लटरीप्रति मानिसहरूको मोह बढ़िरहेको छ। जहाँ सरकारी लटरी दिनमा तीनपटक चल्छ त्यहाँ सिङ्गल डिजिट वा एक अङ्कको खेल आधा–आधा घण्टामा हुन्छ। छिटो नाफाको आशामा साधारण मजदुरदेखि ससाना व्यवसायीसम्म लोभको जालमा परेर दरिद्र बन्दै गइरहेका छन्। अर्कातिर सरकारी कोषमा कुनै राजस्व पनि परेको छैन। 12.50 रुपियाँ तिरेर एउटा टिकट काट्दा पचास रुपियाँ नभई सिधै 100 रुपियाँ पाइने व्यवस्था छ।थाहा पाएअनुसार असमका एक व्यक्ति दिनाहाटा शहरमा घर भाड़ामा लिएर यस्तो ऱ्याकेट सञ्चालन गरिरहेका छन्। तिनीसँग सत्तारूढ़ दल नजिकका केही व्यक्तिहरू पनि संलग्न रहेका आरोप छ। जहाँ सरकारी लटरीमा पाँच अङ्कको पहिलो पुरस्कार घोषणा हुन्छ त्यहाँ भने शून्य (0) देखि नौ (9) भित्रका एक अङ्कको खेल हुन्छ। शहरको बलरामपुर रोड क्षेत्रबाट यो कारोबार सञ्चालित भइरहेको बताइन्छ। स्थानीय पुलिस र प्रशासनले सबै देखेर पनि आँखा चिम्लिरहेको आरोप छ।
तर दिनाहाटाका विधायक तथा उत्तर बङ्गालका विकास मन्त्री उदयन गुहले भने, यो पुलिसको हेर्ने विषय हो। खेल बन्द गर्नुपर्छ। यसबारे पुलिससित कुरा गर्नेछु। दिनाहाटा शहरका विभिन्न स्थानमा लटरी टिकट बेच्ने पसल छन्। विक्रेताहरू टेबलमाथि सेतो कागज–कलम राखेर नै खुल्ला रूपमा यो कारोबार चलाइरहेका छन्। मुख्यतः पाँच माथा मोड़ नजिकका केही पसल र रेलगेट लाइनको छेउछाउका पसलहरूमा यो अवैध खेल चलिरहेको छ। सबै मिलाएर झण्डै 30 वटा पसलमा अन्य लटरीसितै एक अङ्कको लटरीको व्यापार भइरहेको बताइएको छ। सानो सेतो कागजको टुक्रामा अङ्ग्रेजी अङ्क 0 देखि 9 मध्ये ग्राहकले रोजेको एक अङ्क लेखिदिइन्छ। प्रत्येक अङ्कका लागि 12.50 रुपियाँ तिर्नुपर्छ, र त्यसको साटो 100 रुपियाँ पाउने व्यवस्था छ। यस्तै गरी एउटा वा धेरै अङ्क (डिजिट) बुक’ गरिन्छ। कागजको टुक्रामा देब्रेतिर खेल चल्ने समय र दाहिनेतर्फ मिति लेखिन्छ। कति नम्बर अङ्क, कति वटा बुक गरियो सबै विवरण त्यसै कागजको टुक्रामा लेखिन्छ। प्रत्येक आधा घण्टामा परिणाम टिकट विक्रेताका फोनमा आउँछ। टुक्रामा लेखिएको अङ्क मिले रकम ग्राहकलाई फिर्ता दिइन्छ। बिहान 9 बजीदेखि राति 9 बजीसम्म यो खेल चल्छ। मोबाइलमा एउटा निश्चित साइटमा खेलको परिणाम दुई अङ्कमा आउँछ जसमा पहिलो अङ्क नै पुरस्कार प्राप्त गर्ने अङ्क हो।
यो खेल चल्ने पसलहरूमा एउटा सानो डायरी हुन्छ। त्यसमा कुन अङ्क, कहिले बुक भयो, सबै विवरण लेखिन्छ। ऱ्याकेट चलाउने व्यक्तिहरूले नै उक्त डायरी उपलब्ध गराएको बताइन्छ। खेल आरम्भ हुन केही मिनटअघि डायरीको उक्त पानाको फोटो खिचेर निश्चित नम्बरमा पठाइन्छ।12.5 रुपियाँमा बेचिने टिकटबाट विक्रेतालाई 50 पैसा मात्र कमिशन मिल्छ। तर नाम नखुलाउँदै एक लटरी विक्रेताले बताएअनुसार दिनाहाटामा रहेका ती लगभग 30 पसलहरूमा बिहानदेखि रातिसम्म जोड्दा 8-10 लाख रुपियाँसम्म कारोबार हुन्छ। वन डिजिट लटरीमा धेरै मानिसहरूले सर्वस्व गुमाइरहेका छन्। तीमध्ये एकजनाले भने, बडनाचिना क्षेत्रका एक वासिन्दाले दुई महीनामै 1 लाख रुपियाँभन्दा अधिक हारे। केही रकम पुरस्कार पाए पनि घाटा धेरै भएको तिनको गुनासो छ। आधा–आधा घण्टामा खेल हुने भएकाले धेरैजना आफ्नो कामकाज छोड़ेर पसलअघि उभिएका देखिन्छन्। तिनीहरूलाई कतै जाने फुर्सद हुँदैन। यसरी खुल्ला खेल चलिरहँदा पनि पुलिसले कुनै चासो नदेखाएको मानिसहरूको आरोप छ। एक स्थानीय वासिन्दाअनुसार यो रोक्न कसैसित साहस छैन किनकि यस ऱ्याकेटसित ठूल्ठूला मान्छेहरू संलग्न छन्। दैनिक लाखौँ रुपियाँको व्यापारको नाफा धेरै ठाउँमा बाँड़िन्छ।
एक डिजिट लटरीको कारोबार
