जलपाइगढ़ी नगरपालिकाविरुद्ध उच्च न्यायालयमा मुद्दा

करला नदीनजिक वार्ड नम्बर 24 मा जलपाइगढ़ी नगरपालिकाले दोस्रो डम्पिङ ग्राउण्ड बनाएको विषयमा अहिले ठूलो विवाद चलिरहेको छ। जहाँ नगरपालिका फोहोर फ्याँकिरहेको छ त्यो दुई परिवारको निजी जमीन रहेको नयाँ कुरा बाहिर आएको छ। उक्त जमीनका मालिकसित कुनै अनुमति नलिई नगरपालिका त्यहाँ फोहोर फ्याँक्न थालेको आरोप छ। निजी जमीनमा कसरी डम्पिङ ग्राउण्ड बनाइयो भनेर प्रश्न उठाउँदै उक्त जमीनका मालिक भास्कर सरकारले कलकत्ता उच्च न्यायालयमा नगरपालिकाविरुद्ध मुद्दा दर्ता गरेका छन्। पाँच दिनअघि दर्ता गरिएको उक्त मुद्दामा जलपाइगढ़ी नगरपालिका र बीएलआरओलाई पक्ष बनाइएको छ। शहरको बस्तीबीच नगरपालिकाको दोस्रो डम्पिङ ग्राउण्ड बनाइएको विरोधमा जलपाइगढ़ी परिवेश बचाओ नागरिक कमिटी पहिले नै सड़कमा उत्रिसकेको छ। समितिको तर्फबाट पनि सार्वजनिक हितमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी आएको छ। वार्ड नम्बर 24 का काउन्सिलर अम्लान मुन्सीले भने, यस विषयमा अर्को हप्ता मुख्यमन्त्रीलाई भेट्न प्रतिनिधि मण्डल कलकत्ता जानेछ।
बालापाड़ा क्षेत्रमा नगरपालिकाको स्थायी डम्पिङ ग्राउण्ड पहिले नै छ। त्यहाँ निर्माण कार्यको बहानामा गत वर्ष फरवरीमा नगरपालिकाले वार्ड नम्बर 24 को उद्योग समिति पाड़ाको करना खोला किनारमा अस्थायी रूपमा दोस्रो डम्पिङ ग्राउण्ड बनाएको थियो। तर त्यहाँ शहरको ठूलो भागको फोहोर जम्मा हुन थालेपछि दुर्गन्धका कारण स्थानीय वासिन्दालाई बस्नै कठिन भइरहेको मानिसहरूको गुनासो छ। आरोपअनुसार, दोस्रो डम्पिङ ग्राउण्ड रहेको जमीन नगरपालिकाको नभई भास्कर सरकार र मजुमदार परिवारको हो। कुल जमीन लगभग 3.8 ऐकर छ।
भास्कर सरकारले भने, हाम्रो जमीन लगभग 54 कट्ठा छ। आरएस खतियानअनुसार 734 नम्बर दागमा 24 कट्ठी जमीन छ। तर नगरपालिकाले एकपटक पनि हामीसित अनुमति माग्ने आवश्यक ठानेन। तिनले थपे, फोहोर फ्याँकिएको विषयमा नगरपालिकालाई भनिए पनि तिनीहरूले कुनै कदम चालेनन्। जमीनका अर्को मालिक अपूर्व मजुमदारले भने, सरकार परिवारको जमीनबाहेक बाँकी जमीन हाम्रो हो। लकडाउनको समय नगरपालिका त्यहाँ अस्थायी बजार बनाउन चाहन्थ्यो। त्यसकै लागि त्यति बेला माटो फ्याँकिएको थियो। त्यो देखिएपछि तत्कालीन अध्यक्ष मोहन बसुलाई भनिएको र त्यसबारे मुद्दा पनि दर्ता गरिएको थियो। तर त्यसपछि पनि नगरपालिकाले त्यहीँ दोस्रो डम्पिङ ग्राउण्ड बनायो र बाउन्ड्रीसहित साइनबोर्ड पनि राख्यो। नगरपालिकाका उक्जिक्युटिभ अफिसर देबदुलाल पात्रले भने, मामला दर्ता भएको विषयबारे मलाई केही जानकारी छैन।

By Piyali Poddar