केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रको दीर्घकालीन राजनैतिक तथा प्रशासनिक आकाङ्क्षासित सम्बन्धित संवादलाई सहज बनाउन आईपीएस (अवकाशप्राप्त) तथा पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाहकार पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको छ। यस विषयमा प्रतिक्रिया दिँदै जीटीए सभासद विनय तामाङले विज्ञप्ति जारी गरेर यस निर्णयलाई स्वागत जनाएका छन्।
विनय तामाङले भनेका छन्, म भारत सरकारले हालै दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका दीर्घकालीन राजनीतिक तथा प्रशासनिक सरोकारहरूमा संरचित संवादलाई सहज बनाउन र अघि बढ़ाउनका लागि पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको निर्णयलाई गहिरो प्रशंसा र संस्थागत आदरका साथ स्वीकार गर्दछु। राष्ट्रिय सत्ताको सर्वोच्च स्तरबाट आएको यो निर्णय देशको संवैधानिक ढाँचाभित्र रहेर स्थायी र दिगो समाधानको दिशामा अघि बढ्ने सन्तुलित अनि दूरदर्शी दृष्टिकोणको प्रतीक हो।
तिनले अझ भनेका छन्, यस नियुक्तिले सङ्घीय सरकारको संस्थागत संवादको चाहना, मापदण्डअनुसारको सहकार्य अनि सङ्घीय समन्वयप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। यसले नीति सुधार र द्वन्द्व रूपान्तरणका लागि वैधानिक माध्यमहरूलाई सुदृढ़ बनाएको छ। यस पहलले सरकारको रणनीतिक दूरदृष्टि, प्रशासनिक सुझबुझ र राजनीतिक संवेदनशीलतालाई पुनः पुष्टि गरेको छ। अब दार्जीलिङ पहाड़, सिलगढ़ी तराई र डुवर्स क्षेत्रका जनताको आकाङ्क्षालाई संवैधानिक अखण्डता, प्रशासनिक सम्भाव्यता र राष्ट्रिय एकताको दायराभित्र सम्बोधन गर्न सकिने मार्ग प्रशस्त भएको छ।
केन्द्रको निर्णयलाई विनय तामाङद्वारा स्वागत
