उत्तर बङ्गालमा आएको विपदपछि राज्य सरकारका विभिन्न विभागहरूले विपद व्यवस्थापन कार्यमा सक्रिय भूमिका निर्वाह गरे पनि सिँचाइ विभागको कार्यप्रति मुख्यमन्त्री ममता ब्यानर्जी पूर्ण रूपले सन्तुष्ट छैनन्। मानस भुइयाँको जिम्मामा रहेको सिँचाइ विभागले कार्य सही प्रकारले गर्न नसकेको मुख्यमन्त्रीले टिप्पणी गरेकी छन्। मुख्यमन्त्रीले भनिन्, नदी किनारमा बनाइएका कङ्क्रिटका बाँधहरू छ महीनामै भत्किने जानकारी मलाई प्राप्त भएको छ। यस्तो परिस्थितिमा सिँचाइ विभागका कुनै पनि परियोजनालाई स्वीकृति दिनअघि निर्माण विभागसित छलफल गर्न मुख्यमन्त्रीले राज्यका मुख्य सचिव मनोज पन्थलाई निर्देशन दिएकी छिन्। उत्तर बङ्गालमामा उद्धार, राहत वितरण र पुनर्वासका कार्यबारे बुधवार मुख्यमन्त्रीले दार्जीलिङमा समीक्षा बैठक गरिन्। सोही बैठकमा तिनले सिँचाइ विभागको कार्यप्रति असन्तोष प्रकट गरेकी हुन्।
उत्तर बङ्गालको विपदमा धेरै नदीका बाँध भत्किएका छन्, धेरै आंशिक रूपले क्षतिग्रस्त भएका छन्। यी बाँधहरूलाई सिँचाइ विभागले आपतकालीन रूपमा कति मरम्मती गर्न सक्छ भन्ने विषयमा पनि मुख्यमन्त्री विश्वस्त छैनन्। तिनले भनिन्, सिँचाइ विभागले जे काम गरे पनि म मनोज पन्थलाई भनिरहेकी छु कुनै पनि परियोजनालाई हरियो झण्डा देखाउनअघि निर्माण विभागसित सल्लाह गर्नुहोस्। तिनीहरूले कार्य सही प्रकारले गर्न सकेका छैनन्। जससित विशेषज्ञता छ, त्यसले निगरानी गर्नुपर्छ। निर्माण विभागकी सचिव अन्तर आचार्यसित कुरा गर्नुहोस्। वन विभागले सबै ठाउँमा म्यानग्रोभ र भेटिभरका बोटहरू रोप्नेछ। यो काम तीन महीनासम्म निरन्तर हुनेछ। अहिले त वर्षा छैन।
मुख्यमन्त्रीसमक्ष पुगेको रिपोर्टअनुसार, अलिपुरद्वार, जलपाइगढ़ी र कोचबिहारमा तोर्सा, महानन्दा, जलढाका, टिस्टा, डायना नदीका 1128 मिटर बाँध भत्किएको छ। बालासन, लिस, घिस, कुची, नेउरा, रायडाकलगायत अन्य नदीका 12680 मिटर नदी किनारा क्षतिग्रस्त भएको छ। यी क्षतिग्रस्त बाँध वा नदी किनारामा कङ्क्रिटको संरचना बनाउनको साटो भेटिभरका बोटहरू रोप्ने निर्देशन मुख्यमन्त्रीले दिएकी छन्। तिनले भनिन्, भेटिभर रोप्न आरम्भ गर्नुहोस्। यो कङ्क्रिटभन्दा पनि बलियो हुन्छ। यसमा वन विभागको जिम्मावारी हुन्छ। कङ्क्रिटका बाँध छ महीनापछि भत्किन्छ। म जलको पैसा पानीमा फ्याँक्न तयार छुइनँ।
सिँचाइ विभागको भूमिकाप्रति असन्तुष्ट मुख्यमन्त्री
