गत 4 अक्टोबरको दिन मिरिकमा भएको अत्यधिक वर्षाले मिरिक महकुमाको अधिकांश ठाँउहरूमा पैह्रो गएपछि ती गाउँ बस्तीहरूमा अझ पनि यातायात सुचारु बन्न सकेको छैन। यद्यपि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको पहलमा मिरिक बस्ती अनि मरमालाई जोड्ने दुवै सड़कमा वाहनको आवतजावत आरम्भ भएको छ भने मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ पर्यटन केन्द्रसम्म पुग्ने सड़कलाई पनि सुचारु गर्ने कार्य जारी छ। दशैँ तिहारको बेला चारैतिर यातायात ठप्प बनेपछि मानिसहरूलाई यातायातमा धेरै समस्या भइरहेको देखिएको छ।
कतिपय ठाँउहरूमा होमस्टेमा आउने पर्यटकहरूको गाड़ी फँसेको पनि देखिएको छ। यता खरबानीको मुख्य सड़कमा पनि पैह्रो झरेको छ। पैह्रोले ठूला वाहनहरूको यातायात अवरुद्ध भएको छ। खरबानीलाई जोड्ने यो एकमात्र सड़क हो भने यस गाउँलाई जोड्ने अर्को वैकल्पिक सड़क छैन।
पैह्रोले चारैतिर यातायात ठप्प गरेपछि जेसीभीको माध्यमद्वरा सड़क सफा गर्ने कार्य चलिइरहेको कारणले शीघ्र कतिपय ठाँउको यातायात सुचारु बन्ने देखिएको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले चारैतिर सड़क क्षतिग्रस्त बनेको कारण यातायात सुचारु गर्न चुनौतीपूर्ण रहे पनि यातायातलाई सुचारु लागिपरेका बताए। जहाँ सम्भव छ त्यहाँ सड़क सफा गर्ने कार्य भइरहेको तिनले बताए। तिनले जता सुकै पैह्रो गएकाले जेसीभी मशिनको कमी रहे पनि शीघ्र समस्याको समधान गर्न सक्रिय रहेको पनि बताए।
पैह्रोले क्षतिग्रस्त सड़क सुचारु गर्ने कार्य जारी
