विवाह भएको 15 दिनपछि नाबालिका आफैले पुलिसलाई खबर गरिन्। फोन प्राप्त गरेपछि बालुरघाट थाना पुलिसले नाबालिकालाई उद्धार गर्योग। तर आरोपी श्रीमान र तिनका परिवारजनलाई पुलिसले पक्राउ गर्न सकेन। तिनीहरू भागेका छन्। अहिले उक्त नाबालिकालाई चाइल्ड वेलफेयर कमिटीको संरक्षणमा राखिएको छ। तिनलाई मालदाको एउटा होममा पठाइएको छ।बालुरघाट पुलिसअनुसार नाबालिकाको उमेर 16 वर्ष हो। यसपल्ट तिनले माध्यमिक परीक्षा दिएकी थिइन्।
तिनको घर पश्चिम मेदिनीपुरमा हो। नाबालिकाले चाइल्ड वेलफेयर कमिटीलाई आप्नो बाबा दैनिक मजदुरी गर्ने कामदार भनेर बताएकी छिन्। घरमा एउटी बहिनी पनि छ। केही महीनाअघि सामाजिक सञ्जालमार्फत तिनको चिनाजाना बालुरघाटका एक युवकसित भएको थियो। आरोपअनुसार उक्त युवकले फसाएर तिनलाई बालुरघाट बोलाए। युवकले बोलाएपछि नाबालिका मेदिनीपुरबाट बालुरघाट पुगिन्। त्यसपछि जबरजस्ती मन्दिरमा लगेर युवकले तिनीलाई विवाह गरेको आरोप छ। तिनलाई घरमै थुनेर शारीरिक तथा यौन दुर्व्यवहार गर्दै आएको आरोप पनि लगाइएको छ। यसरी 15 दिन बित्यो।
यसैबीच मौका पाएर नाबालिकाले उक्त युवकको मोबाइल प्रयोग गरी बालुरघाट पुलिसलाई खबर गरिन् र सहयोग मागिन्। त्यसपछि पुलिस आरोपीको घर पुग्दा पुलिस आएको थाहा पाएर आरोपी र तिनका परिवारजन नाबालिकालाई छोड़ेर भागेका छन्। बालुरघाट थाना प्रमुख सुमन्त विश्वासले भने, नाबालिकालाई उद्धार गरिएको छ। सम्पूर्ण घटनाको छानबिन भइरहेको छ। आरोपीहरूको खोजी जारी छ। चाइल्ड वेलफेयर कमिटीका अधिकारीहरूले भने, यस घटनापछि नाबालिका अत्यन्तै डराएकी छन्। तिनी घर फर्कन चाहन्छिन्। त्यसैले छिट्टै परिवारसित सम्पर्क गराउन पश्चिम मेदिनीपुर पुलिसलाई तिनको विवरण पठाइएको छ। हाल तिनलाई परामर्श दिइँदैछ र मालदाको एक होममा राखिएको छ।
