कम्प्युटर गेम: आठ वर्षीय बालक ‘फोर्टनाइट’का सबैभन्दा कान्छा व्यावसायिक खेलाडी

अमेरिकाका आठ वर्षीय बालक जोसेफ डिन ‘फोर्टनाइट’ नामक लोकप्रिय ‘कम्प्युटर गेम’मा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका छन्।

गत डिसेम्बरमा ‘टिम ३३’ ले उनलाई अनुबन्ध गरेपछि उनले हस्ताक्षर गरेबापत ३३,००० अमेरिकी डलर र एउटा तीव्र गतिको कम्प्युटर प्राप्त गरेका छन्।

‘फोर्टनाइट’ अनलाइन खेलिने खेल हो जुन विश्वका करौडौँ मानिसहरूले खेल्ने गर्छन्।

संसारभर २० करोड प्रयोगकर्ता रहेको यो खेल नि:शुल्क डाउनलोड गर्न सकिन्छ।

“मलाई अनुबन्धको प्रस्ताव आउँदा रमाइलो लाग्यो,” उनले बीबीसीलाई भने।

“मैले व्यावसायिक खेलाडी बन्ने विषयमा लामो समयदेखि सोचेको थिएँ तर टिम ३३ को प्रस्ताव नआउँदासम्म कसैले यो कुरालाई गम्भीरतापूर्वक लिएनन्।”

जोसेफले चार वर्षको उमेरदेखि ‘फोर्टनाइट’ खेल्न थालेका थिए र १८ महिला पहिले ‘टिम ३३’ ले उनको खेलप्रति रुचि देखाएको थियो।

“हाम्रो एक खेलाडी खोज्ने व्यक्तिले जोसेफ भन्ने बालक छ र उ निकै राम्रो खेल्छ भन्यो,” टिम ३३ का सह-संस्थापक र प्रमुख कार्यकारी टेलर ग्यालाहारले भने।

“त्यसपछि उनीहरूले दुई जनाबीच हुने प्रतिस्पर्धा प्रत्येक दिन सकेसम्म धेरै खेल्न थाले। एक दिन उनले भने यदि यो बालकलाई हामीले अनुबन्ध नगर्ने हो भने अरूले गर्छ भन्ने कुरा भयो।”

कम्प्युटर खेलबाट हुने आम्दानीका बारेमा जानकारी दिने वेबसाइटका अनुसार ‘फोर्टनाइट’बाट सबैभन्दा बढी कमाउने १० मध्ये दुई जना मात्रै १८ वर्षभन्दा माथि उमेरका छन्।\

अहिलेसम्मको एक मात्र ‘फोर्टनाइट’ विश्व प्रतिस्पर्धा सन् २०१९ मा १६ वर्षीय काइल गियर्सडर्फले जित्दै ३० लाख डलर हात पारेका थिए।

जोसेफका लागि काइल गियर्सडर्फको जित प्रेरणादायक थियो।

“उनीजस्तै खेल्ने र बन्ने मेरो सपना छ। उनलाई पनि विश्व प्रतिस्पर्धा नजितेसम्म कसैले पनि गम्भीर रूपमा लिएनन्। मलाई पनि टिम ३३ को प्रस्ताव नआउँदासम्म कसैले गम्भीरतापूर्वक लिएनन्।।”

तर कम्प्युटर खेललाई वर्गीकरण गर्ने संस्थाहरूका अनुसार जोसेफ ‘फोर्टनाइट’ खेल्ने उमेरका भएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *