ओकेटी चियाबारी श्रमिक सङ्गठनका प्रतिनिधि अनि चियाबारी प्रबन्धकहरूमाझ सभा सम्पन्न भएको युनियन नेता अर्पण राईले जानकारी गराएका छन्। सभामा श्रमिक सङ्गठनहरूले चियाबारीका श्रमिकहरूलाई यो वर्ष पूजा बोनस 20 प्रतिशतको दरले प्रदान गरिएकोमा चियाबारी मालिक राजु वैध अनि प्रबन्धकहरूलाई आभार प्रकट गरे अनि आउने वर्षहरूमा पनि यसै गरी कुनै झमेला र समस्या उत्पन्न नगराई श्रमिकहरूलाई 20 प्रतिशत दरले पूजा बोनस प्रदान गरिदिने माग गरे।
सभा अवधि श्रमिकहरूले सही बोनस प्राप्त गरे वा गरेनन् भनेर 2024 को अप्रेल महीनादेखि 2025 को मार्च महीनासम्म दैनिक हाजिरा रजिस्टर अनि वर्षभरिको ईएलपी बिगाको पूर्ण विवरण रजिस्टर जाँच गरे। यस विषयमा बोल्दै युनियन नेता अर्पण राईले प्रत्येक श्रमिकलाई बोनस कसरी र केको आधारमा तय हुने विषयमा जानकारी नहुने बताए। 20 प्रतिशत भनेर कतै श्रमिकहरू ईएलपीमा ठगिएका छैनन् भनेर श्रमिक सङ्गठनका सदस्यहरूले रजिस्टर जाँच गर्ने काम गरेका पनि तिनले बताए।
चियाबारीका मूल प्रबन्धक वसन्त राधेश्याम पङ्कज चौबे, चियाबारीका बड़ा बाबु शतीस मोक्तान लगायत अफिस स्टाफहरू सबैलाई साथमा राखी लगभग चार घण्टासम्म अडिटिङ गरिएको बताउँदै राईले यसरी श्रमिक सङ्गठनलाई जाँच गर्ने अनुमति दिएकोमा प्रबन्धक पक्षप्रति आभार प्रकट गरे। राईले उक्त जाँचमा सम्पूर्ण श्रमिकहरूको लेखाजोखा हिसाब किताबमा कुनै गड़बड़ी नरहेको भेटिएको बताए। साथै तिनले चिया श्रमिकहरूको हक र अधिकारका लागि आगामी नोभेम्बर महीनामा सभा बस्ने सहमति बनेको पनि बताए। सभामा सङ्गठनको पक्षबाट सङ्गठनका प्रमुख संयोजक अर्पण राई, प्रमुख सल्लाहकारहरू सञ्जय राई, जनक खड़का, योगेश गोले अनि राजु बम्जन लगायत सह संयोजिका प्रभा राई अनि सदस्यहरू भिमा शर्मा र सबिता खड़का उपस्थित रहेका थिए।
