अल्ट्रासोनोग्राफीका लागि दुई महीनापछि मिति

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पैसा नदिएसम्म कुनै पनि काम छिट्टो हुँदैन चाहे रगत लिँदा होस् वा कुनै अपरेसन वा सामान्य स्वास्थ्य परीक्षणका लागि होस्। यस्तो आरोप यहाँ नयाँ होइन। लामो समयदेखि नै मेडिकलमा दलालको रगरगीबारे गुनासो आइरहेको छ। अस्पतालका विभिन्न स्थानमा दलालबाट सावधान रहनुहोस् भन्ने सूचना टाँसिएको छ। तर वास्तविकतामा दलालहरूको मनपरी प्रत्येक दिन बढ़िरहेको छ। चिकित्सक, सुरक्षा गार्ड तथा अन्य स्वास्थ्यकर्मीहरू पनि उक्त गिरोहसित प्रत्यक्ष रूपमा संलग्न रहेका आरोप छ। मङ्गलवार फेरि मेडिकल कलेजमा पैसा लिएर स्वास्थ्य परीक्षणको मिति छिट्टो गरिदिएको प्रमाण भेटिएको छ। यस विषयमा अस्पतालको भित्री वृत्तमै प्रश्न उठ्न थालेको छ। यद्यपि अस्पतालका सुपर डा. सञ्जय मल्लिकले कारवाहीको आश्वासन दिएका छन् अनि सर्वसाधारणलाई पनि सतर्क रहने आग्रह गरेका छन्।
मेडिकलमा अल्ट्रासोनोग्राफी, सिटी स्क्यान, बायोप्सी लगायत विभिन्न परीक्षणका लागि सामान्य बिरामीहरूलाई डेढ़देखि दुई महीना वा अझ ढिलो मिति दिइन्छ। तर पैसा दिइए ती परीक्षण दुई-तीन दिनभित्र वा अधिकतम एक हप्ताभित्र गरिने आरोप छ। त्यसैले निःशुल्क उपचारको आशामा सरकारी अस्पताल आउने गरीब बिरामीहरूले पैसा नतिरी सेवा पाउँदैनन्। अपरेसनको निम्ति पनि यस्तै स्थिति छ। बिरामीलाई महीनौँसम्म अपरेसनको प्रतीक्षामा राखिन्छ। कहिलेकाहीँ त अपरेसन थिएटरसम्म पुर्यााइए पनि अपरेसन नगरी वार्डमा फर्काइन्छ। तर दलाल समात्न सके तुरुन्तै सबै काम सम्पन्न हुन्छ।
यस्तै एक घटना मङ्गलवार सुपर अल्ट्रासोनोग्राफी विभागमा देखिएको थियो। केही दिनअघि पुरानो स्थानबाट यो विभाग सुपर स्पेसियालिटी ब्लकमा सारिएको छ। एकजना बिरामीलाई ओपीडी चिकित्सकले अल्ट्रासोनोग्राफी लेखिदिएका थिए। त्यो दिन तिनी अल्ट्रासोनोग्राफीका लागि त्यहाँ गएका थिए। मिति लिन सबै लाइनमा उभिएका थिए। कसैलाई 27-28 अगस्त त कसैलाई सेप्टेम्बर दोस्रो हप्ताको मिति दिइयो। बिरामीहरूले भने, अहिले नै स्वास्थ्य समस्या भएकाले डाक्टर देखाएका थियौँ। डाक्टरले छिट्टो परीक्षण गर्न भनेका छन्। तर यहाँ त डेढ़ महीनापछि मात्र मिति दिइन्छ।
तीन तलामा अल्ट्रासोनोग्राफी विभागमा आशीष सिंह नामक युवकले भने, मलाई 6 सेप्टेम्बरको मिति दिइएको थियो। त्यसपछि एकजना सुरक्षा गार्डलाई बताएँ। तिनले 300 रुपियाँ लिएर आजै परीक्षण गराइदिए। अल्ट्रासोनोग्राफीको लाइनमा उभिएकी चटेरहाटकी आसीरुन खातुनले भनिन्, 17 जूनमा डाक्टर देखाएर 29 जुलाईको मिति पाएकी थिएँ। आज बिहानै आएर लाइनमा उभिएकी छु। तर यहाँका केही कर्मचारीहरू पछाड़िबाट मानिस बोलाएर सिधै भित्र पठाइरहेका छन्। हामी त बिहानैदेखि लाइनमै उभिरहेका छौँ। बिरामीहरूको भनाइमा सुपर स्पेसियालिटी ब्लक पनि दलालले भरिएको छ। यहाँका केही सुरक्षा गार्ड तथा कर्मचारीहरूले बाहिरी व्यक्तिसित मिलेर दलालको सञ्जाल चलाइरहेका छन्। अस्पतालको भीड़मा को कहाँ दलालको पक्षमा काम गरिरहेको छ, पैसा उठाइरहेको छ भनेर सहजै बुझ्न गाह्रो छ।

By Piyali Poddar