केन्द्रको अन्तिम स्वीकृति मिल्ने बित्तिकै सेवकको बाघपुलको सुरक्षाको जिम्मा राज्य पुलिसबाट एसएसबी (सशस्त्र सीमा बल) को हातमा जानेछ। पुलको दुवै छेउमा अर्धसैनिक बलको चेकपोस्ट बनाउने प्रस्ताव केन्द्रीय गृह मन्त्रालय अनि रक्षा मन्त्रालयमा पठाइएको छ। 24 घण्टा निगरानीका लागि सीसीटीभी क्यामेरा जड़ान गरिनेछ। यो निर्णय केन्द्रीय गुप्तचर निकायहरूको रिपोर्टको आधारमा लिइएको हो। उत्तर–पूर्व भारतसित सड़क मार्गमार्फत सम्पर्कको प्रमुख मार्गमा पर्छ सेवकको बाघपुल। भूटानसित व्यापारिक कारोबारको हिसाबले पनि यो पुल अत्यन्त महत्त्वपूर्ण छ। हाल रक्षा सम्बन्धी कारणले यस पुलको महत्त्व अझ बढ़ेको छ। सेनाका रासन, हतियार तथा अन्य सामग्री यही पुल हुँदै उत्तर–पूर्व भारत र सिक्किमसम्म पुग्ने गर्छ।
टिस्टा नदीमा बाढ़ी र पहाड़ी क्षेत्रको पैह्रोका कारण सिक्किमतर्फ जाने राष्ट्रिय राजमार्ग 10 अवरुद्ध हुँदा बाघपुलमा दबाउ बढ्छ। त्यस्तो अवस्थामा सेवकको बाघपुल हुँदै बाखराकोटको लूप पुल र राष्ट्रिय राजमार्ग 717-ए भएर सिक्किम पुग्नुपर्छ। चीन–भारत सीमासम्म सेनाको रासन पुऱ्याउन समस्या नहोस् भनेर सीमा सड़क सङ्गठनले यो वैकल्पिक मार्ग निर्माण गरेको हो। त्यसैले बाघपुलको सुरक्षाबारे गम्भीर चासो रहेको केन्द्रीय गुप्तचर निकायहरूले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्। ती रिपोर्टमा पुलको सुरक्षामा रहेका कमजोरीहरू पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ। हाल पुलको निगरानी राज्य पुलिसको मङपङ अनि सेवक पुलिस चौकीले संयुक्त रूपमा गरिरहेको छ। तर केही सैनिक अधिकारीहरूको धारणा छ कि चीनसित भारतको कुटनीतिक सम्बन्ध जटिल भइरहेकाले उत्तर–पूर्व सीमामा सेनाको सक्रियता बढ़ाउनु अत्यावश्यक छ। सु्कना, ब्याङ्गडुबी जस्ता सैन्य छाउनीहरूसित सीमाको सिधा सम्पर्क सुनिश्चित गर्न बाघपुलको सुरक्षामा विशेष ध्यान दिनुपर्ने भएको हो।
बाघपुल सुरक्षाको जिम्मा एसएसबीको मालबजारस्थित 46 औँ बटालियनलाई दिन सक्ने सम्भावना छ। यदि निर्णय अन्तिम भए पुलको दुवैपट्टि एसएसबीको चेकपोस्ट बनाइनेछ। 24 घण्टा निगरानीका लागि दुवैपट्टि कम्तीमा पाँचवटा अत्याधुनिक सीसीटीभी क्यामेरा जड़ान गरिनेछ। पुलको रेलिङको उँचाइ बढ़ाउने विचार पनि भइरहेको छ।
एकजना सेना अधिकारीले जानकारी दिएअनुसार हालै आर्टिफिसियल इण्टेलिजेन्स प्रयोग गरी एक युवाले बनाएको भिडियोमा सेवकको बाघपुल भत्किएको देखाइएको थियो। त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। उक्त घटनापछि ती युवालाई पक्राउ गरिएको छ। केन्द्रीय गुप्तचर निकायहरूको रिपोर्टमा सेवक पुलको सुरक्षामा राज्य पुलिसको भूमिका पर्याप्त नभएको उल्लेख गरिएको छ। यसै सबैलाई विचार गरी अर्धसैनिक बललाई पुल सुरक्षाको जिम्मा दिने प्रस्ताव पठाइएको हो।
पुलमा कुनै प्रकारको अप्रिय गतिविधि भए कसरी त्यसलाई रोक्ने भनेर मङ्गलवार बिहान एसएसबीले बाघपुलमा मोक ड्रिल गर्योि। मालबजारमा तैनाथ एसएसबीको 46औँ बटालियन, विशेष तालिमप्राप्त स्निफर डग अनि मङपङ चौकी पुलिसले संयुक्त रूपमा अभ्यासमा भाग लिएका थिए। अभ्यासको क्रममा पुलमा वाहनमा आईईडी जस्तो विस्फोटक पदार्थ भए त्यसलाई कसरी निष्क्रिय गर्ने भनेर अभ्यास गरियो।
मोक ड्रिलको क्रममा पुलको दुवै किनारमा ट्राफिक नियन्त्रण गरियो। अभ्यास तीन चरणमा सम्पन्न भएकाले ट्राफिकमा ठूलो अवरोध भएन। एसएसबीका एकजना अधिकारीले बताएअनुसार लगभग दुई घण्टा मोक ड्रिल गरियो। त्यस क्रममा माइकमार्फत उपस्थित जनतालाई जानकारी दिइयो। त्यसै दिन सेवकमा भएको अर्को मोक ड्रिलमा प्राकृतिक विपदको बेला घाइतेहरूको उद्धार कसरी गर्ने भनेर एनडीआरएफले देखायो। पैह्रोमा मानिस पुरिए कसरी उद्धार गर्ने भनेर पनि एनडीआरएफ र एसएसबीको आरआर टिमले संयुक्त रूपमा अभ्यास गरे। तर टिस्टा नदीमा पानीको बहाउ बढ़ेकाले नदीबाट उद्धार अभ्यास गर्न सम्भव भएन। एनडीआरएफका कम्पनी कमाण्डर सञ्जयकुमार रञ्जनले भने, विपदमा उद्धार एक किसिमको रणनीति हो। त्यसैको अभ्यास गरिएको हो।
बाघपुल सुरक्षाको जिम्मा एसएसबीलाई!
