बुधवार बिहान लगभग 3 बजी आशीघर पुलिस चौकीनजिक लोकनाथ बजारमा रहेको एक राष्ट्रियकृत ब्याङ्कको एटीएम मेसिनबाट पैसा लुटिएको खबर छ। प्राप्त जानकारीअनुसार चारचक्के गाड़ीमा आएका दुईजना दुष्कर्मीले ग्यास कट्टर प्रयोग गरेर एटीएम मेसिन काटी पैसा लुटे। घटनाको जानकारी पाएपछि सिलगढ़ी थाना पुलिस टोली घटनास्थल पुगेको थियो अनि जाँच थालिएको छ। पुलिस तथा स्थानीय सूत्रअनुसार दुष्कर्मीहरूले बुधवार बिहानै एटीएम लुटपाट गरेका हुन्। सीसीटीभी फूटेजमा तिनीहरू मुख गम्छाले छोपेर आएका देखिन्छन्। ग्यास कट्टरको प्रयोग गर्दा एटीएममा आगो लागेको थियो। आगलागी देखेपछि स्थानीय वासिन्दा प्रदीप कर्मकारले दमकल विभागलाई खबर गरे। सिलगढ़ीदेखि आएको दमकलको एउटा इञ्जिनले आगोलाई नियन्त्रणमा ल्यायो। त्यही मौका छोपेर दुष्कर्मीहरूले एटीएमबाट पैसा लुटेर सुइँकुच्चा ठोके।
एटीएम लुटपाटपछि भाग्दै गर्दा उक्त गाड़ी आशीघर चौकीका गस्ती पुलिसको नजरमा पऱ्यो र पुलिसले गाड़ीलाई खेदो गरे पनि गाड़ीलाई पक्रन सकेन। यद्यपि पछि मतिगढ़ा क्षेत्रबाट उक्त गाड़ी फेला पऱ्यो। दुष्कर्मीहरूले गाड़ी त्यहाँ छोड़ेर भागेका थिए। पुलिसले जानकारी दिएअनुसार उक्त गाड़ी एनजेपी थाना क्षेत्रको अम्बिका नगरका वासिन्दा सुजित शूरको हो। सुजितले भने, म मङ्गलवार यात्री लिएर गान्तोक गएको थिएँ। फर्किएर प्रत्येक दिन जस्तै अम्बिका नगरको लोकनाथ मन्दिरनजिक मैदानमा गाड़ी पार्क गरेको थिएँ। तिनले थप भने, बुधवार बिहान एकजना परिचितले खबर दिए कि मेरो गाड़ी मतिगढ़ा क्षेत्रमा छोड़िएको छ। सुजित तत्काल त्यहाँ पुगेर सिलगढ़ी थाना पुलिसलाई सम्पर्क गरे। तर त्यस बेलासम्म सिलगढ़ी कण्ट्रोल रूममा पहिले नै जानकारी पुगिसकेको थियो। दुष्कर्मीहरूले सुजितको गाड़ी चोरी गरेर एटीएम लुटपाट गरेका हुनसक्ने पुलिसले शङ्का गरेको छ।
बुधवार बिहान घटनास्थलको निरीक्षण गर्न सिलगढ़ी पुलिस कमिश्नरेटका डीसीपी (पूर्व) राकेश सिंह र एसीपी रोबिन थापा पुगेका थिए। घटनाको जाँच आरम्भ भइसकेको छ र सीसीटीभी फूटेज पनि अध्ययन गरिँदैछ। साथै गाड़ीका मालिक सुजितसित सोधपुछ पनि भइरहेको छ। एसीपी रोबिन थापाले भने, घटना हाम्रो ध्यानमा आएको छ। लुटपाटमा प्रयोग भएको गाड़ी पनि हामीले जफत गरिसकेका छौँ।
सिलगढ़ीमा फेरि एटीएम लुटपाट
