बलिउड अभिनेत्री जरिना खानले आफू अभिनेत्री कट्रिना कैफसँग तुलना हुने विषयमा बोलेकी छन्।

जरिनाले आफू कट्रिनासँग तुलना भएकै कारण करिअरमा असर पुगेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

जरिनाले सन् २०१० मा अनिल शर्मा निर्देशित फिल्म ‘वीर’बाट बलिउड डेब्यू गरेकी हुन्। फिल्ममा उनीसँगै सलमान खानको मुख्य पात्रमा अभिनय छ। अभिनय राम्रो भएता पनि जरिनाले फिल्म क्षेत्रमा आफूलाई उकास्न सकेकी छैनन्। किनभने उनको अनुहार अभिनेत्री कट्रिना कैफको जस्तै देखिन्छ। 

फिल्म क्षेत्रमा प्रवेश गरेसँगै उनी अभिनेत्री कट्रिना जस्तै देखिन्छिन् भन्ने हल्ला चलेको हो। आफ्नो अनुहार कट्रिनासँग मिल्छ भन्ने प्रश्नमा जरिनाले टाइम्स अफ इन्डियामा भनेकी छन्, ‘यो हल्ला कहाँबाट सुरू भयो भन्ने मलाई थाहा छैन। फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि नै फेसबुक र सामाजिक सञ्जालमा म कट्रिन जस्तै देखिन्छु भन्ने प्रतिक्रियाचाहीँ आउथे।’

उनले थप भनेकी छन्, ‘पहिले सामजिक सञ्जाल अहिले जस्तो शक्तिशाली थिएन। हामी समाचारका लागि पत्रिकामा मात्र विश्वास राख्थ्यौं। मलाई लाग्थ्यो, मान्छेहरू मेरोबारे चासो नै दिदैनन्। मेरोबारे उनीहरू आफैं धारणा बनाउथे।

जरिनाले यति मात्र होइन, आफ्नो तौलका कारणसमेत विवादित हुनुपरेको बताइन्। उनी पहिले १०० किलोकी थिइन्। त्योबेला उनलाई अरूले ‘मोटी’ भन्छन् भन्ने लागेको थियो। तर उनले ४० किलो तौल घटाउदा समेत उनको तौलको मजाक बनाइयो। 

‘मलाई फ्याट्रिनासमेत भनियो। म कुनै कार्यक्रममा सहभागिता जनाउँथे भने त्यसमा पनि मेरोबारे कहिल्यै राम्रो कुरा लेखिएन। सधैं मेरो तौलको बारेमा कुरा हुन्थ्यो,’ जरिनाले भनिन्।
 
जरिनाले यिनै विषयलाई आधार बनाएर हिन्दुस्तान टाइम्सलाई भनेकी छन्, ‘मेरो अनुहार र तौलको मात्र कुरा होइन। म प्रतिभाशाली पनि छु।’

उनले केही समयअघि पनि आफूसँग निर्माताहरू काम गर्न नचाहेको गुनासोमा भनेकी थिइन्, ‘कुनै पनि निर्माता मसँग सहकार्य गर्न चाहदैनन्।’

उनले निराश हुँदै यो पनि भनिन्, ‘मलाई कट्रिना जस्तै मात्र होइन, प्रिति जिन्टा, सन्नी लियोनी जस्तै देखिन्छु पनि भन्छन्। म किन जरिना खान भएर चिनिन सक्दिन?’

झन्डै ११ वर्ष फिल्म क्षेत्रमा बिताइसकेकी जरिनाको हरर फिल्म ‘हेट स्टोरी ३’, ‘१९२१’, ‘हाउसफुल २’, ‘अक्सर २’ मा अभिनय छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *