बङ्गलादेशी छात्रबारे बढ्दै रहस्य

शारीरिक रूपमा उपस्थित नभई बङ्गलादेश फर्किएको छु भनेर उल्लेख गर्दै विश्वविद्यालय प्रशासनलाई इमेल गरेर बेपत्ता भएका छन् विवादित बङ्गलादेशी छात्र शान भौमिक। बुधवार बिहान 7 बजी उत्तर बङ्गाल विश्वविद्यालयका संयुक्त रजिष्ट्रार स्वप्नकुमार रक्षितलाई शान भौमिकको इमेल प्राप्त भयो। उक्त इमेलमा भौमिकले आफू स्वदेश फर्किएको उल्लेख गरेका छन्। विद्यार्थी भिसामा भारत आएका शान भौमिक अवैधानिक रूपमा शिक्षण कार्यमा संलग्न भएका तथ्य सार्वजनिक भएपछि हङ्गामा मच्चिएको छ। मङ्गलवार स्वप्नकुमारले शान भौमिकलाई 48 घण्टाभित्र पासपोर्ट र भिसासहित आफ्नो कार्यालयमा उपस्थित हुने निर्देशन दिएका थिए। तर किन शान उपस्थित भएनन् भन्ने प्रश्नको उत्तर अहिलेसम्म पाइएको छैन। के तिनका पासपोर्ट वा भिसा सम्बन्धी कागजातहरूमा कुनै गड़बड़ी छ? के त्यो गड़बड़ी खुलस्त हुने डरले तिनले उपस्थिति टार्न खोजे? यस्ता प्रश्नहरू पनि उठिरहेका छन्। के साँच्चै शान भौमिक बङ्गलादेश फर्किए त? कि भारतमै कतै लुकेर बसेका छन्? त्यो स्पष्ट भइसकेको छैन। बुधवार बिहानैदेखि तिनको मोबाइल स्विच अफ छ। म्यासेज पठाउँदा पनि कुनै प्रतिक्रिया आएको छैन। संयुक्त रजिष्ट्रार स्वप्नकुमारले भने, हामीले प्राप्त भएको इमेलमा शान कहिले बङ्गलादेश फर्किए भन्ने उल्लेख छैन। तिनले सुरक्षा कारण देखाउँदै उपस्थित हुन नसकेको बताएका छन्। यदि तिनको सुरक्षामा समस्या थियो भने तिनले पुलिस वा कानूनी सहायता नलिई किन फर्किन खोजे? त्यो बुझ्न सकिएको छैन। स्वप्नकुमारले थपे, हामीले शान भौमिकलाई जवाफस्वरूप इमेल पठाएका छौँ। तिनी विश्वविद्यालय फर्किने हुन् कि होइनन् वा परीक्षा दिने हुन् कि होइनन्, त्यो सोधिएको छ। फर्किए अनिवार्य रूपले पासपोर्ट र भिसासहित उपस्थित हुनुपर्ने पनि उल्लेख गरिएको छ।

मङ्गलवार रातिसम्म शान भौमिकको भारतीय सिम कार्ड सक्रिय थियो। शानले लुकीछिपी कुनै अन्य योजना बनाइरहेका त होइनन् भन्ने विषयमा पनि प्रश्न उठेको छ। सूत्रअनुसार सिलगढ़ीको लेकटाउन क्षेत्रमा शानका थुप्रै आफन्तका घर छन्। सञ्चार विभागमा सोधपुछ गर्दा थाहा हुन्छ, शहरको तीनबत्ती वा जलपाई मोड़ क्षेत्रमा शानको एउटा विलासी फ्ल्याट पनि रहेको बताइन्छ। विश्वविद्यालय क्याम्पसमै शान भौमिकबारे धेरै प्रश्नहरू उठेका छन्। यति धेरै विवादको हुँदाहुँदै पनि विश्वविद्यालय प्रशासनले अहिलेसम्म पुलिस वा प्रशासनलाई यसबारे जानकारी दिएको छैन। उच्च शिक्षा विभागमा पनि परामर्श मागिएको छैन। त्यसको स्पष्ट कारण पनि दिन सकेको छैन। पठनपाठन सम्बन्धी सम्पूर्ण विषय डीनको निगरानीमा रहनुपर्ने भए पनि कला र विज्ञान संकायका कार्यवाहक डीन महेन्द्रनाथ रायअनुसार तिनी यसबारे पूर्णतः अनभिज्ञ थिए। सबै कुरा थाहा पाएको भए पनि विभागीय प्रमुखमाथि किन कुनै कारवाही गरिएको छैन? प्रशासनले कानूनी कदम किन नचालेको? यसबारे स्पष्ट जवाब आएको छैन। तिनले भने, कानूनी सल्लाहअनुसार हामी अहिले पुलिसलाई केही बताइरहेका छैनौँ। तर विभागीय प्रमुखमाथि जाँच हुनेछ। त्यसका लागि समिति गठन गर्ने प्रयास भइरहेको छ।

कसरी एकजना बङ्गलादेशी विद्यार्थीले यति ठूलो पहुँच जमाए भन्ने विषयबारे विश्वविद्यालयमा चर्चा भइरहेको छ। सूत्रअनुसार सञ्चार विभागका एकजना शिक्षकसित शान निकै नजिक थिए। उक्त शिक्षककै समर्थनले शानले विद्यार्थी अवस्थादेखि नै विभागमा प्रभाव जमाउन थालेका थिए। विभिन्न सांस्कृतिक कार्यक्रममा तिनी फोटोग्राफरका रूपमा जान्थे। तिनलाई अगाड़ि ल्याउन अरू गेष्ट फ्याकल्टीहरूलाई हटाइएको आरोप पनि उठेको छ। भारतमा शानको गतिविधिबारे उक्त शिक्षकलाई पूर्ण जानकारी रहेको विभागका वर्तमान र पूर्व विद्यार्थी तथा शिक्षकहरूले बताएका छन्। उक्त शिक्षकमाथि पनि सोधपुछको माग उठेको छ। एकजना बङ्गलादेशी विद्यार्थीलाई शिक्षक बनाइएको खबरले विश्वविद्यालयका शिक्षकहरू अचम्भित भएका छन्। शिक्षक परिषदका सचिव अर्धेन्दु मण्डलले भने, हामीले जे सुनेका छौँ त्यो भयावह छ। यस गैरकानूनी कार्यमा संलग्न सबै शिक्षक तथा अधिकारीहरूमाथि कठोर कारवाही हुनुपर्छ। विषय संवेदनशील छ। समय खेर फाल्न नहुने, प्रशासन र पुलिसलाई तुरुन्त जानकारी दिनु आवश्यक छ। विश्वविद्यालय प्रशासन किन मौन बसेको छ त्यसबारे बुझ्न सकिएको छैन। सञ्चार विभागका विभागीय प्रमुख वरुण रायले शान भौमिकको विषयमा कुनै टिप्पणी गर्न चाहेनन्। तिनले भने, विश्वविद्यालय प्रशासनले मलाई मिडियासित बोल्नमाथि रोक लगाएको हुनाले म केही भन्न सक्दिनँ। तर शान भौमिकको विषयमा कठोर कदम चाल्नुपर्ने माग शिक्षक तथा कर्मचारीहरूबाट उठिरहेको छ। सबै मिलाएर विश्वविद्यालय प्रशासन बङ्गलादेशी विद्यार्थी शान भौमिकको मामिलामा ठूलो अप्ठ्यारोमा परेको देखिन्छ।

By Piyali Poddar