पहिले बुलडोजरको ठक्कर त्यसपछि अर्को जङ्गली हात्तीको आक्रमण। एकपछि अर्को चोटका कारण जलपाइगढ़ीको एउटा जङ्गली हात्तीको शरीरमा गम्भीर घाउ बनेको थियो। लामो समयदेखि घाइते अवस्थामा त्यो हात्ती बस्ती क्षेत्रमा डुलिरहेको थियो। बितेको बिहीवार वन विभागले त्यस हात्तीको उपचारको व्यवस्था गरेको थियो। तर त्यसले काम गरेन। अन्ततः मङ्गलवार उक्त हात्तीको मृत्यु भयो।
प्राप्त सूचनाअनुसार उक्त जङ्गली हात्ती गत फरवरीमा आपालचाँद रेञ्जको जङ्गलबाट नेपुचापुरतिर आएको थियो। त्यहाँ एउटा कङ्क्रिटको घरमा ठोक्किएको थियो। त्यो दिन एउटा बुलडोजरले समेत हात्तीलाई ठक्कर दिएको थियो। त्यसमा हात्तीको शरीरमा धेरै चोटपटक लागेको थियो। यसरी घाइते अवस्थामा पनि हात्ती लामो समयसम्म बस्ती क्षेत्रमा डुलिरह्यो। हात्तीको उपचारको माग गर्दै विभिन्न सङ्घ-संस्थाहरूले आवाज उठाए पनि वन विभागले हात्तीको अत्तोपत्तो नगरेर उपचार गर्न नसकेको स्थानीय वासिन्दाहरूले बताएका छन्।
स्थानीय सूत्रअनुसार घाइते अवस्थामै हात्तीले जलपाइगढ़ीको क्रान्ति ब्लकको आपालचाँद रेञ्जको जङ्गलमा आश्रय लिएको थियो। त्यसपछि गत महीना अर्को जङ्गली हात्तीको आक्रमणमा त्यो हात्ती अझ गम्भीर घाइते भएको थियो। तर त्यति बेला पनि वन विभागले कुनै उपचार नगरेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्। त्यसपछि बल्ल बितेको बिहीवार हात्तीको उपचार गरिएको थियो। वन विभागअनुसार हात्तीको शरीरमा गहिरो चोट लागेको थियो। त्यसकारण मङ्गलवार हात्तीको मृत्यु भयो। घटनापछि वातावरणप्रेमी अनिर्बाण मजुमदारले भने, गत दिसम्बर महीनामा पनि उस्तै गरी आपालचाँद रेञ्जको जङ्गलमै उपचार नपाएर एउटा हात्तीको मृत्यु भएको थियो। फेरि त्यस्तै घटना दोहोरिएको छ। वन विभागको आपालचाँद रेञ्जको चरम लापरवाहीको कारण नै यो घटना भएको हो। तिनले थप जानकारी दिँदै भने, हात्तीको एउटा आँखाले राम्ररी देख्दैनथ्यो। तर पछिल्ला केही दिनदेखि त्यो हात्ती स्थानीय क्षेत्रमा डुलिरहेको थियो।
