विद्यार्थी भिसामा भारत आएर कानून विपरीत उत्तर बङ्गाल विश्वविद्यालयको मास कम्युनिकेशन विभागमा गेष्ट फ्याकल्टी (अतिथि शिक्षक) को रूपमा कार्यरत छन् एकजना बङ्गलादेशी युवक। यो तथ्य बाहिर आएपछि चारैतिर हङ्गामा मच्चिएको छ। आरोपीको नाम शान भौमिक हो। विश्वविद्यालयका कागजातअनुसार दुई वर्षको विद्यार्थी भिसा लिएर शान भौमिकले मास कम्युनिकेशन विभागबाट स्नातकोत्तर अध्ययन पूरा गरेका थिए। हालै तिनको भिसा अवधि बढ़ाइएको छ। विद्यार्थी भिसामा भारत आएका विदेशी नागरिकलाई कसरी अतिथि शिक्षक नियुक्त गरियो भन्ने प्रश्न उठिरहेको छ। विश्वविद्यालय अनुदान आयोगको नियमअनुसार स्नातकोत्तर स्तरमा अध्यापन गर्न न्यूनतम योग्यता एनईटी वा एसईटी उत्तीर्ण गरेको हुनु अनिवार्य छ। साथै विद्यवारिधि पनि आवश्यक हुन्छ। तर ती योग्यता नराखी एक स्नातकोत्तर उत्तीर्ण विद्यार्थीलाई गेष्ट फ्याकल्टीको रूपमा नियुक्त गरिनु आपत्ति र आलोचनाको विषय बनेको छ।
यस घटनामा मास कम्युनिकेशन विभागका प्रमुख वरुण रायको भूमिकामाथि प्रश्न उठिरहेको छ। अतिथि शिक्षकको नियुक्तिका लागि कुनै विज्ञापन जारी नगरिएको साथै अन्तर्वार्ता नलिइएको आरोप छ। विश्वविद्यालयमा विदेशी विद्यार्थी सम्बन्धी जिम्मावारीमा रहेका जोइण्ट रेजिष्टार स्वप्नकुमार रक्षितले भने, “मास कम्युनिकेशनको अध्ययन पूरा गरी भिसा विस्तार गरिसकेपछि शान भौमिक सम्भवतः महिला अध्ययन विभागमा पुनः भर्ना भएका छन्। तर तिनलाई कसरी गेष्ट फ्याकल्टी नियुक्त गरियो भन्ने विषयको छानबिन गरिनेछ। विभागीय प्रमुखसित छलफल गरी सबै कागजातहरू जाँच गरिनेछ र आवश्यक कदम चालिनेछ।
योग्यता नभए पनि कानून उल्लङ्घन गर्दै अध्यापन गरेको विषयमा शान भिन्नाभिन्नै प्रतिक्रिया दिन्छन्। आरम्भमा तिनले गेष्ट फ्याकल्टीको रूपमा पढ़ाएको कुरा स्वीकारे। तर पछि तिनले भने, जागिरे होइन एक वर्षअघि पूर्व विद्यार्थीको हैसियतमा मैले स्वेच्छामा केही कक्षा लिएको थिएँ। भिसा सम्बन्धी सोधिएको प्रश्नमा तिनले फोन काटिदिए। शान भौमिकले अस्वीकार गरे पनि विश्वविद्यालयको लेखा विभागका कागजातहरूअनुसार तिनले गत अप्रेल महीनामा गेष्ट फ्याकल्टीको रूपमा 25 कक्षा लिएका थिए। त्यसको आधारमा विभागीय प्रमुख वरुणले तिनको नाममा 12500 रुपियाँको पारिश्रमिक बिल लेखा विभागमा पठाएका थिए। लेखा अधिकारीलाई पठाइएको पत्रमा मास कम्युनिकेशन प्रमुखले भिजिटिङ फ्याकल्टी बजेट हेडबाट पारिश्रमिक दिन अनुरोध गरेका थिए। महीनौँदेखि शान भौमिकको पारिश्रमिकका लागि पत्र पठाइए पनि वरुणले त्यस्तो कुनै कुरा नभएको दाबी गरेका छन्। वरुणले भने, शान भौमिक हाम्रो विभागका पूर्व विद्यार्थी हुन्। तिनी कुनै फ्याकल्टी होइनन्। तिनी राम्रो फोटोग्राफर हुन्। कहिलेकाहीं हाम्रो प्रोजेक्टमा सघाउँछन्। तर त्यसबापद तिनलाई कुनै रकम दिइएको छैन। तर विश्वविद्यालयको कला र विज्ञान संकायका डिन महेन्द्रनाथ रायले भने, “सबै कुरा बुझेर कानूनअनुसार कारबाही गरिनेछ।” जोइन्ट रजिस्टारले उल्लेख गरेको सम्भावनाअनुसार, यदि भिसा विस्तार गरेर शान फेरि महिला अध्ययन विभागमा भर्ना भएका छन् भने, त्यस अवस्थामा विश्वविद्यालयले आफ्नै दर्ता गरिएका विद्यार्थीलाई ‘शिक्षक’ बनाएको प्रमाणित हुन्छ। यस्तो अवस्थामा यो अझ ठूलो घोटाला हुने शिक्षाप्रशासकहरूको धारणा छ।
नियम तोड़ेर शिक्षक बने बङ्गलादेशी
