पानी ट्याङ्की सीमाबाट बङ्गलादेशी पक्राउ

पानी ट्याङ्कीबाट एकजना बङ्गलादेशी युवकलाई खोरीबारी पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम मोहम्मद रेडोय खान हो। तिनी बङ्गलादेशको नाटोर जिल्लाको लालपुर थाना क्षेत्रका वासिन्दा हुन्। प्राप्त जानकारीअनुसार, गुप्त सूचनाको आधारमा एसएसबीको 41औँ नम्बर ब्याटालियनका जवानहरूले बुधवार बेलुकी भारत-नेपाल सीमास्थित पानी ट्याङ्की बस स्ट्याण्डबाट उक्त बङ्गलादेशी युवकलाई नियन्त्रणमा लिएका हुन्। त्यसपछि युवकलाई पानी ट्याङ्की बीओपीमा लगेर एसएसबी अधिकारीहरू र गुप्तचरहरूले सोधपुछ शुरु गरे।
एसएसबी सूत्रअनुसार पक्राउ परेका युवकसित कुनै पनि पासपोर्ट वा भारतको भिसा फेला परेको छैन। तर सोधपुछमा तिनले 12 नोभेम्बर वैध बङ्गलादेशी पासपोर्ट र भिसा लिएर हवाईजहाजमार्फत नेपाल प्रवेश गरेका थिए। त्यसपछि तिनी काठमाडौँको एउटा होटलमा केही दिन बसेका थिए। सर्बिया भ्रमण गर्ने तिनको उद्देश्य थियो। त्यसैले सर्बियाको भिसा बनाउनका लागि तिनले आफ्नो वास्तविक पासपोर्ट इमरान नामक एकजना एजेण्टलाई दिएका थिए। तर उक्त एजेण्टले भिसा उपलब्ध नगराई पासपोर्ट फिर्ताका लागि ठूलो रकमको माग गरे।
पक्राउ परेका युवकअनुसार वास्तविक पासपोर्ट नभएकाले तिनी वैकल्पिक बाटो खोजिरहेका थिए। त्यस क्रममा एक अनलाइन गेममार्फत चिनिएको भारतीय साथीको सुझाउमा तिनी भारत प्रवेश गर्ने निर्णयमा पुगे। 13 मई तिनी पहिलोपल्ट काठमाडौँबाट काकरीभिट्टा आइपुगे। त्यसपछि अर्को दिन एकजना नेपाली गाइडमार्फत तिनलाई मेची पुल पार गराई भारतको पानी ट्याङ्की बस स्ट्याण्डमा पुऱ्याइयो। त्यहाँ पुग्ने बित्तिकै तिनलाई एसएसबीले नियन्त्रणमा लिएको हो।युवकसित पासपोर्ट नभए पनि तिनको मोबाइलमा पासपोर्ट र नेपालको भिसा भेटिएको एसएसबी अधिकारीहरूले बताएका छन्। यद्यपि कुनै गैर कानूनी कागजात वा वस्तुहरू फेला परेको छैन। बुधवार राति पक्राउ परेका बङ्गलादेशी युवकलाई एसएसबीले खोरीबारी पुलिसको जिम्मा लगाएको थियो। त्यसपछि खोरीबारी पुलिसले तिनलाई पक्राउ गरी सोधपुछ शुरु गरेको हो। बिहीवार दिउँसो तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ।

By Piyali Poddar