रुबियाले योगासनको आरम्भ केवल पाँच वर्षको उमेरमा गरेकी थिइन्। यद्यपि त्यति बेला रुबिया अथवा तिनको परिवारले एक दिन कुनै परी कथाजस्तो यस्तो सफलता प्राप्त होला कल्पना गरेको थिएन। चरम आर्थिक अभावसित जुझिरहेको परिवारका लागि यस्तो सोच्नै नसकिने विषय थियो। तर थाहै नपाई रुबिया योगासनप्रति समर्पित भइन्। यही मार्ग समातेर भविष्यमा अघि बढ्ने रुबियाले सोचिन्। यात्रा सजिलो थिएन। बाटोमा धेरै बाधाहरू आए। तर पनि ट्युशन पढ़ाएर, आफ्ना सबै कामहरू सञ्जालेर, बिहान 5 घण्टा र बेलुकी 3 घण्टा प्रशिक्षण गरेर तिनी आफ्नो लक्ष्यतर्फ अघि बढ़िरहिन्। त्यसको परिणाम स्वरूप गत 6 अप्रेलको तिनले ठूलो सफलता हात पारिन्।
6 अप्रेलको दिन कश्मीरको शेर-ए-कश्मीर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा फिट इण्डिया अन्तर्राष्ट्रिय योगासन प्रतियोगिता सम्पन्न भएको थियो। त्यस प्रतियोगिताको योग ट्रेडिशनल वरिष्ठ बालिका श्रेणीमा पश्चिम बङ्गाललाई जलपाइगढ़ीकी 24 वर्षीया रुबिया खातूनले प्रतिनिधित्व गरेकी थिइन्। तिनले त्यसै प्रतियोगितामा पहिलो स्थान हत्याएर स्वर्ण पदक जितिन्। प्रतियोगितामा गुजरात, महाराष्ट्र, दिल्ली, कर्नाटक, गोवा, पश्चिम बङ्गाल, जम्मू-कश्मीर, असम लगायत विभिन्न राज्यहरूबाट लगभग 200 प्रतियोगीहरू सहभागी भएका थिए। त्यहाँ पहिलो स्थान हत्याएपछि तिनलाई थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिने अवसर प्राप्त भएको छ।
यस विषयमा रुबियाले भनिन्, पोडियममा भारतीय झण्डा ओढ़ेर उभिँदा म खुशीले रोएकी थिएँ। अब अन्तर्राष्ट्रिय स्तरमा पनि देशका लागि पदक जित्न चाहन्छु। त्यसका लागि म घर फर्किएपछि अभ्यास र आहार व्यवस्थापनमा ध्यान दिइरहेकी छु। यद्यपि मुख्य चिन्ताको विषय भने थाइल्याण्ड जानका लागि लाग्ने खर्च हो। रुबियाका बाबा गफुर अली फूटपाथमा जुत्ता बेच्ने काम गर्छन् भने आमा मुन्नी खातून आशाकर्मी हुन्। गफुर अलीले भने, छोरीको यस सफलताले हामीलाई खुशीको जुन भाव दिएको छ त्यो शब्दमा व्यक्त गर्न सकिँदैन। उसले योगा सिकाएर र आफै अभ्यास गरेर जस्तो तरिकाले अघि बढ्दैछ त्यसलाई आशीर्वादबाहेक अरू केही दिन सकिँदैन।
रुबियालाई राष्ट्रिय स्तरको योगासनमा स्वर्ण पदक
