बाइसनको आक्रमणमा परी दुईजना घाइते भएका छन्। घना जङ्गलबाट निस्केर बाइसन मानव बस्ती क्षेत्रमा प्रवेश गर्दा निकै आतङ्क मच्चिएको छ। बाइसनको आक्रमणमा परी घाइते हुने शान्ति तिर्की(35) अनि नितेश उराँव(17) हुन्। तिनीहरू दुवै भादोवा लाइनका वासिन्दा हुन्। घाइते दुवैलाई बीरपाड़ा राज्य सामान्य अस्पतालमा भर्ना गरिएको छ। प्राप्त रिपोर्टअनुसार अलिपुरद्वार जिल्लाको बीरपाड़ा ब्लकअन्तर्गत पर्ने मदारीहाटको नाङडाला चियाबारी क्षेत्रमा यो घटना बुधवार बिहान भएको हो। उक्त चियाबारीदेखि केही पर दलमोर जङ्गल रहेको छ। स्थानीयहरूको आशङ्कामा त्यहीँ जङ्गलबाट बाइसन निस्केर चियाबारी क्षेत्रमा प्रवेश गरेको हो। सूचना पाएपछि तुरुन्त दलगाँउ रेञ्जका वन अधिकारीहरू अनि बीरपाड़ा थानाका पुलिस कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। पछि बाइसन डिमडिमा चियाबारीतर्फ गएको थियो। वन अधिकारीहरूले अहिले बाइसनलाई जङ्गलतर्फ धपाउन प्रयास गरिरहेका छन्। स्मरण गराइन्छ, नगराकट्टाको च्याङमारी चियाबारीमा तीनवटा बाइसन निर्धक्क घुमिरहेका थिए। अर्कातिर मटेलीको जुरन्ती चियाबारीमा एकजना श्रमिकमाथि चितुवाले आक्रमण गरेको छ। मानव-वन्यजन्तु द्वन्द्वको यी दुवै घटना मङ्गलवार भएको हो।
बाइसनको आक्रमणमा दुई घाइते
