चियाका बोट उखेलेर ती जमीनलाई परित्यक्त देखाई टी टुरिज्म परियोजनाका लागि प्रयोग गर्न खोजिएको आरोप लागेको छ। तराईका धेरै चियाबारीहरूमा यो कार्य आरम्भ भइसकेको छ। डागापुर चियाबारीमा पनि यस्तै दृश्य देखिएको छ। उक्त चियाबारीको लगभग 20 ऐकर क्षेत्रबाट चियाका बोटहरू हटाइएको छ। आरोपअनुसार एकै दिनमा होइन तर क्रमशः एक वर्षको अवधिमा बाटोनजिक चियाबारीबाट चियाका बोटहरू अनि छायाँ दिने रूखहरू हटाइएका छन्। चियाबारीलाई नष्ट गरेर होटल, रिसोर्ट, आवासीय संरचना बनाउने प्रयास भइरहेको चिया श्रमिकहरूले बताइरहेका छन्। श्रमिकहरूको भविष्य अन्धकारतर्फ धकेलिएको तिनीहरूको गुनासो छ। सीटूका दार्जीलिङ जिल्ला सचिव गौतम घोषले भने, “चियाबारी मालिकहरूले योजनाबद्ध रूपले राति चियाका बोट उखेलेर जमीन खाली गरिरहेका छन्। अब ती जमीनलाई व्यावसायिक प्रयोजनमा प्रयोग गरेर नाफा कमाउने तयारी भइरहेको छ। राज्य सरकारको गलत नीतिको कारण चिया श्रमिकहरूको भविष्य अनिश्चित बन्दै गइरहेको छ। हामी यसविरुद्ध आन्दोलनमा उत्रिनेछौँ। अन्यायपूर्वक चियाका बोटहरू उखालिएको ठाउँमा फेरि नयाँ चियाका बोट लगाउनुपर्छ। तर चियाबारी व्यवस्थापक सन्तु क्षेत्रीले भने, “चियाका बोट उखालिएको छैन। त्यो जमीन धेरै समयदेखि परित्यक्त छ र त्यहाँ टी टुरिज्म परियोजना लागू गरिनेछ। सिलगढ़ीका अतिरिक्त श्रम अधिकारी श्यामल दत्तले पूरै विषयबारे अध्ययन गरेर आवश्यक कार्वाही गरिने आश्वासन दिएका छन्।
राज्य सरकारले चियाबारीको परित्यक्त जमीनको 30 प्रतिशत टी टुरिज्म परियोजनाका लागि प्रयोग गर्न स्वीकृति दिएको छ। यो खबर सुनेपछि चियाबारीहरूमा जमीन खाली गर्ने षड़यन्त्र आरम्भ भएको छ। तराईको पुरानो डागापुर चियाबारीमा पनि उस्तै गतिविधि देखिएको छ। सिलगढ़ी शहरको छेउमा पर्ने दार्जीलिङ मोडनजिक रहेको 110 नम्बर राष्ट्रिय राजमार्गको छेउमै यो चियाबारी छ। यही स्थानमा चियाबारीको दुईवटा प्लटमा लगभग 20 ऐकर जमीनबाट केही महीनाभित्रै चियाका बोट पूर्ण रूपले उखालिएको आरोप छ। वाम मजदुर सङ्गठन सीटूअनुसार, मालिक पक्षले बाटोनजिक चियाबारीका विभिन्न प्लटहरूबाट लगभग 36 ऐकर जमीनबाट चियाका बोट हटाएको छ। मूल सड़कको एकातर्फ चिया कारखाना, अफिस र व्यवस्थापकको बङ्गलो छ। बिहीवार जब उक्त स्थानमा पुग्दा सड़कको विपरीत दिशाको विशाल जमीनबाट चियाका बोटहरू हटाइएका थिए। त्यहाँ छायाँ दिने रूखहरू पनि काटिएको कारण पूरै जमीन मरुभूमि जस्तो देखियो। ती दुई प्लटमा थोरै चियाका बोटहरू बाँकी छन् जसमा पहिलो फ्लसका केही मुनाहरू हरियो अवस्थामा देखिन्छन्। कतै कतै सुक्खा चियाका बोट र छायाँ दिने रूखहरू पल्टिएका देखिन्छन्।
आईएनटीटीयूसीका दार्जीलिङ जिल्ला अध्यक्ष निर्जल देले भने, तराईका केही बेइमान चियाबारी मालिकहरूले परित्यक्त देखाउन चियाका बोटहरू हटाइरहेका छन्। यस्तो आरोप डागापुरमा मात्र नभई अन्य चियाबारीहरूमा पनि देखिएको छ। हामीले यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएका छौँ अनि थप निगरानी बढ़ाइनेछ। चियाबारीबाट चियाका बोटहरू हटाएर व्यावसायिक परियोजना निर्माण गर्ने योजनाले श्रमिकहरू आक्रोशित बनेका छन्। यथाशीघ्र आवश्यक कार्वाहीको माग बलियो बन्दै गइरहेको छ।
20 ऐकरबाट हराए चियाका बोटहरू!
