बाघडुग्रा विमानस्थलमा करोड़ौको कारोबारमा दुई दलबीच मिलीजुली सिण्डिकेट

राजनीतिक मतभेद धेरै भए पनि व्यापारका लागि कुनै बाधा छैन। बाघडुग्रा विमानस्थलको विस्तारका लागि ठूलो मात्रामा बालुवा, ढुङ्गा, रड, सिमेण्ट जस्ता निर्माण सामग्री आवश्यक पर्नेछ। यो परियोजना करोड़ौँ रुपियाँको छ र आवश्यक सामग्री स्थानीय रूपमा नै आपूर्ति गरिनेछ। ठेक्का पाएका एजेन्सीहरू प्रायः सत्तारूढ़ दलको सिण्डिकेटबाट नै सामग्री लिन बाध्य रहने आरोप छ। बाघडुग्रा विमानस्थलको काम केन्द्र सरकारको भए पनि सिलगढ़ीमा भारतीय जनता पार्टी (भाजपा) को प्रभाव कम भएकाले एक प्रभावशाली भाजपा नेताले तृणमूल कङ्ग्रेसको एउटा समूहसित मिलेर काम गरिरहेको बताइएको छ। यस सम्झौताअनुसार सबै निर्माण सामग्री आपूर्तिको जिम्मा तृणमूलका एकजना युवा नेतालाई दिइएको छ। यसले दुवै पार्टीभित्र असन्तुष्टि फैलिएको छ जसको कारण आन्तरिक विद्रोह हुन सक्ने आशङ्का गरिएको छ। तृणमूल कङ्ग्रेसकी जिल्ला सभापति पापिया घोषले भने आफूलाई यसबारे थाहा नभएको बताएकी छन्।
बाघडुग्रा विमानस्थल विस्तार परियोजनाअन्तर्गत 1560 करोड़ रुपियाँ लागतमा 50000 वर्गमिटरको अन्तर्राष्ट्रिय स्तरको टर्मिनल निर्माण गरिँदैछ। यसका लागि आवश्यक सबै सामग्री स्थानीय रूपमा नै जुटाइनेछ। राज्य सरकारका विकास सम्बन्धी कार्यहरू प्रायः सत्तारूढ़ दलका नेतासित सम्बन्धित एजेन्सीहरूले पाउँछन्। सूत्रअनुसार भाजपा नेताले सिलगढ़ीका एक प्रभावशाली तृणमूल नेतासित मिलेर यस परियोजनाको कार्य गर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव तृणमूल नेताले स्वीकारेपछि दुवै नेताले गोप्य बैठक गरी परियोजनाको सम्पूर्ण योजना तयार पारेका थिए।

अन्ततः तृणमूलका एक युवा नेतालाई आपूर्तिको सम्पूर्ण जिम्मेवारी दिइएको छ। युवा नेताको मतिगढ़ा क्षेत्रमा व्यापारसमेत रहेको छ। तिनले आफै यो आपूर्ति गर्ने कि यसमा अरूलाई पनि संलग्न गराउने भन्ने निर्णय तिनले गर्नेछन्। परियोजनाबाट आउने कमिसन दुवै पार्टीका नेताहरूले बाँड्ने सहमति भएको बताइन्छ। यो कुरा बाहिर आएपछि भाजपा र तृणमूल दुवै पार्टीभित्र आन्तरिक विवाद आरम्भ भएको छ। दुवै दलका कार्यकर्ताहरू असन्तुष्ट छन् किनकि तिनीहरूलाई कामको अवसर नदिइएको गुनासो गरिरहेका छन्। जब केन्द्र सरकारको कामसमेत तृणमूल नेतालाई दिइन्छ भने तिनीहरूलाई पार्टी गरेर के फाइदा? भाजपा कार्यकर्ताहरूको प्रश्न छ। यस विषयमा भाजपा सिलगढ़ी जिल्ला अध्यक्ष अरुण मण्डलले भने आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

By Piyali Poddar