कर्मचारीको अभावसित जुझ्दै एनबीएसटीसी

उत्तर बङ्गाल राज्य यातायात निगम (एनबीएसटीसी)का डिपोहरूमा अझै पनि कर्मचारी अभाव रहेको छ। राज्य यातायात विभागलाई धेरैपल्ट पत्र लेखे पनि यो समस्या समाधान भएको छैन। बाध्य भएर निगमले 25 जना अधिकारीहरूलाई छ महीनाका लागि पुनः काममा लगाएको छ। यस्तो स्थितिमा निगमले थप 50 वटा बस पाउने भएको छ। मङ्गलवार यातायात मन्त्री स्नेहाशीष चक्रवर्ती र पार्थप्रतीम रायबीच बैठक भयो। उक्त बैठकमा नयाँ बस किन्ने विषयसितै कर्मचारी अभावबारे विस्तृत छलफल भयो। उत्तर बङ्गालका विभिन्न रूटमा सञ्चालन हुने नयाँ बसको मूल्य प्रति गाड़ी 17 लाख रुपियाँ पर्नेछ। यातायात मन्त्रीले ती बस राज्य यातायात विभागले किनेर निगमलाई दिने जानकारी दिए।
निगमका अध्यक्ष पार्थप्रतीम रायले भने, 25 जना अधिकारीहरूलाई पुनः काममा ल्याइएको छ। हामीले यातायात भवनलाई यसबारे जानकारी गराइसकेका छौँ। चाँड़ै नै नयाँ कर्मचारी नियुक्त गरिने आशा छ। उत्तर बङ्गाल राज्य यातायात निगमअन्तर्गत 21 वटा डिपो र 6 वटा टर्मिनल छन्। निगममा हाल 3775 जना कर्मचारी कार्यरत छन् जसमध्ये केवल 400 जना स्थायी कर्मचारी छन्। धेरै ठाउँमा डिपो इञ्चार्जको पद खाली छ। कतै स्टोर किपर, स्टोर अफिसर, सहायक इञ्जीनियर, फ्युल इन्स्पेक्टर जस्ता पद खाली छन्। केही डिपोमा त युनिट सञ्चालन गर्ने पदसमेत रिक्त छ। कण्डक्टर र चालकको पनि अभाव छ। रायगञ्ज र बहरमपुर डिभिजन एउटै डिभिजनल म्यानेजरले सम्हालिरहेका छन्। फरवरीको अन्त्यसम्म धेरै अधिकारी सेवानिवृत्त हुनेछन्। यस्तो अवस्थामा डिपो कसरी सञ्चालन गर्ने भन्ने विषयमा चिन्ता बढ़ेको छ।
सम्बन्धित विभागका सूत्रअनुसार, हालै 112 जना स्थायी र 50 जना अस्थायी कर्मचारी नियुक्त गर्न यातायात विभागलाई पत्र पठाइएको छ। साथै 215 जना चालक र 140 जना कण्डक्टरलाई अस्थायी रूपमा नियुक्त गर्न एजेन्सीमार्फत प्रस्ताव पठाइएको थियो। तर अहिलेसम्म स्वीकृति प्राप्त भएको छैन। निगमका प्रबन्ध निर्देशक दिपङ्कर पिपलाईले भने, सबै क्षेत्रमा कर्मचारीको अभाव छ। हामी समस्यामा छौँ। धेरैपल्ट यातायात भवनलाई जानकारी गराइसकेका छौँ। तिनीहरू निरीक्षण गर्न आएका पनि थिए। अब समाधानको प्रतीक्षा गरिरहेका छौँ। लगभग 25 वर्षअघि उत्तर बङ्गाल राज्य यातायात निगममा स्थायी कर्मचारी नियुक्ति भएको थियो। त्यसपछि कहिलेकाहीँ कण्ट्र्याक्टमा कर्मचारी नियुक्त भए पनि धेरै कर्मचारी र अधिकारीहरू सेवानिवृत्त भइसकेका छन्। अब नयाँ नियुक्ति कहिले हुन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ। निगम अध्यक्षले भने, कर्मचारी नियुक्तिको समस्या चाँड़ै समाधान हुनेछ। पूर्वाधार सम्बन्धी केही कोष रोकिएको छ जसलाई चाँड़ै जारी गरिने आश्वासन मन्त्रीले दिएका छन्।

By Piyali Poddar