मुख्यमन्त्रीको भ्रमणमा चिया क्षेत्रलाई प्राथमिकता

मदारीहाट उपनिर्वाचनमा तृणमूलको विजयपछि मुख्यमन्त्री ममता ब्यानर्जीको पहिलो अलिपुरद्वार भ्रमणमा चिया क्षेत्रलाई विशेष महत्व दिइँदैछ। सूत्रअनुसार यसपल्ट भ्रमणमा लगभग आठ हजार चिया श्रमिकहरूले जमीनको पट्टा प्रदान गरिनेछ। थप केही सय चिया श्रमिकहरूलाई ‘चिया सुन्दरी’ परियोजनाअन्तर्गत घर प्रदान गरिने बताइएको छ। मङ्गलवार अपराह्न मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वार आइपुगेकी छन्। प्रशासन सूत्रले बताएअनुसार बुधवार अलिपुरद्वारमा मुख्यमन्त्रीको प्रशासनिक बैठक हुनेछ। बिहीवार कालचिनीको सुवाषिणी चियाबारीको मैदानमा सरकारी सुविधा वितरण कार्यक्रम हुनेछ। तर यो प्रशासनिक बैठक वा सरकारी सुविधा वितरण कार्यक्रम केवल अलिपुरद्वार जिल्लाको निम्ति मात्र हुने हो वा छेवैका दुई जिल्ला जलपाइगुढ़ी अनि कोचबिहारलाई पनि समेटिने हो भनेर प्रशासनले स्पष्ट जानकारी दिएको छैन। सरकारी सुविधा वितरण कार्यक्रममा लाभार्थीहरूलाई कुन-कुन सुविधा दिइने हो त्यसबारे पनि अलिपुरद्वार जिल्लाका प्रशासनिक अधिकारीहरूले केही स्पष्ट बताएका छैनन्।
प्रशासन सूत्रहरूअनुसार सुवाषिणी चियाबारीमा हुने सरकारी सभाबाट मुख्यमन्त्रीले लगभग आठ हजार चिया श्रमिकहरूलाई जमीनको पट्टा वितरण गर्नेछिन्। त्यसको अतिरिक्त केही सय चिया श्रमिकहरूलाई ‘चिया सुन्दरी’ परियोजनाअन्तर्गत घर प्राप्त हुनेछ। यसबाहेक अन्य सरकारी परियोजनाहरूको सुविधासमेत उक्त कार्यक्रमबाट प्रदान गरिने योजना छ। जयगाउँ डेभलपमेण्ट अथोरिटी (जेडीए) का अध्यक्ष तथा तृणमूलका जिल्ला अध्यक्ष गङ्गाप्रसाद शर्माले भने, हालसम्म हामीलाई प्राप्त जानकारीअनुसार, सुवाषिणी चियाबारीमा बिहीवारको सरकारी सभाबाट मुख्यमन्त्रीले छवटा चियाबारीका 7926 श्रमिकहरूलाई जमीनको पट्टा वितरण गर्नेछन्। साथै तीनवटा चियाबारीका 438 श्रमिकहरूलाई ‘चिया सुन्दरी’ परियोजनाका घरहरू प्रदान गरिने योजना पनि छ।
लोकसभा र विधानसभाका पछिल्ला वर्षहरूमा अलिपुरद्वारमा तृणमूलले पटकपटक चुनाउमा हार ब्योहोर्नु परेको थियो। तर दुई महीनाअघि यसै जिल्लाको मदारीहाट विधानसभाको उपनिर्वाचनमा राज्यको सत्तारूढ़ दल तृणमूलले विजय हासिल गरेको थियो। मदारीहाट उपनिर्वाचनको परिणामपछि तृणमूल साथै विपक्षी भाजपाका जिल्ला नेताहरूले समेत स्वीकारेका थिए कि चिया क्षेत्रका श्रमिकहरूलाई जमीनको पट्टा वितरणजस्ता अन्य विकास योजनाहरूले उक्त निर्वाचनमा सत्तारूढ़ दललाई जिताउन सहयोग मिल्यो। सबै ठिक भए मदारीहाट विधानसभाको उपनिर्वाचनपछि मुख्यमन्त्री ममता ब्यानर्जीको पहिलो अलिपुरद्वार भ्रमणले चिया क्षेत्रका लागि नयाँ नयाँ घोषणा हुने अपेक्षा गरिएको छ।

By Piyali Poddar