सज्जाकको सहयोगी आबाल पक्राउ

गयलपुकुरको पाञ्जीपाड़ामा पुलिसले गोली चलाएको घटनामा मुख्य आरोपी सज्जाक आलमको मृत्यु भयो। अब तिनको मुख्य सहयोगी तथा बङ्गलादेशी नागरिक अब्दुल हुसैन उर्फ आबाललाई पुलिसले पक्राउ गरेको छ। आइतवार राति उत्तर दिनाजपुरको करणदिघी विधानसभाअन्तर्गत सिमानासित जोड़िएको रसाखोवा क्षेत्रबाट तिनलाई पक्राउ गरिएको हो। हत्या मामिलाको आरोपमा सज्जाक न्यायालयमा विचाराधीन कैदी थिए। गत बुधवार इस्लामपुर न्यायालयदेखि रायगञ्ज लैजाँदै गर्दा सज्जाकले दुई पुलिसलाई गोली हानेर भागेका थिए।

त्यसपछि शनिवार बिहान चोपड़ा सिमाना हुँदै बङ्गलादेश भाग्ने क्रममा पुलिससित भएको भिड़न्तमा सज्जाकको मृत्यु भएको थियो। तर जेलभित्र रहेका हत्या मामिलाका आरोपीले आग्नेयास्त्र कसरी पाए? भन्ने प्रश्न उठेको छ। गत बुधवार इस्लामपुर न्यायालय परिसरमै सज्जाकले आग्नेयास्त्र पाएका जाँचमा पुलिसले थाहा पाएको छ। 24 वर्षको उक्त आरोपीलाई आग्नेयास्त्र दिने व्यक्ति शेख हजरत थिए। योजनाको पछाड़ि सज्जाकको सहयोगी तथा बङ्गलादेशी अपराधी अब्दुलको भूमिका थियो। त्यसपछि आबालले सुइँकुच्चा ठोकेका थिए। तर तिनलाई पनि पुलिसले पक्राउ गरेको छ।

आइतवार राति रायगञ्ज र इस्लामपुर पुलिसको संयुक्त टोलीले भारत-बङ्गलादेश सीमानजिक रसाखोवा क्षेत्रबाट आबाललाई पक्राउ गरेको हो। तर यसबारे इस्लामपुर जिल्लाका पुलिस सुपरले कुनै टिप्पणी गर्न चाहेका छैनन्। हाल रसाखोवा पुलिस क्याम्पमा पक्राउ परेका व्यक्तिसित सोधपुछ भइरहेको छ। मङ्गलवार पक्राउ परेका व्यक्तिलाई न्यायालयमा प्रस्तुत गरी हिरासतमा लिने अनुमति माग्ने पुलिसले योजना बनाएको छ।

By Piyali Poddar