एकातिर पूर्वाधारको अभाव, अर्कातिर थानामा दर्ता हुने मामिलाहरूको सङ्ख्या सीमित। प्रायः अधिकारीहरूको काम पर्यटन परियोजनाको अनुगमनदेखि ट्राफिक व्यवस्थापनसम्म सीमित छ। साथै लगातार भीआईपी ड्युटी पनि गर्नुपर्छ। यस्तो स्थितिमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको सपना परियोजना मेगा पर्यटन केन्द्र गजलडोबा अर्थात भोरेर आलोस्थित सिलगढ़ी पुलिसको पूर्ण थानालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय लिइएको छ। राज्य पुलिस सूत्रअनुसार, यसै हप्ता नवान्नमा भएको उच्च स्तरीय छलफलपछि सिलगढ़ी पुलिस कमिश्नरेटअन्तर्गत भोरेर आलो थानालाई चाँड़ै अर्को स्थानमा सारिने प्रक्रिया थालिएको छ। मेगा पर्यटन केन्द्र भोरेर आलोमा पहिले झैँ एउटा पुलिस चौकी राखिनेछ जसलाई गजलडोबा पुलिस चौकीको रूपमा चिन्न सकिन्छ। नयाँ भोरेर आलो थानालाई वर्तमान स्थानबाट लगभग 20 किलोमिटर टाढ़ो आमबारी पुलिस चौकीमा स्थानान्तरण गरिनेछ। त्यससितै आमबारी पुलिस चौकीलाई अस्थायी रूपमा बन्द गर्ने सम्भावना रहेको चर्चा पनि चुलिएको छ।
बुधवार सिलगढ़ी पुलिस कमिश्नर सी. सुधाकरले भने, भोरेर आलो थानालाई अझ राम्रो पूर्वाधारका लागि आमबारी स्थानान्तरण गर्ने निर्णय गरेका छौँ। नयाँ क्षेत्रमा थानाको सञ्चालन प्रक्रिया आरम्भ भइसकेको छ। चाँड़ै मिति घोषणा गरिनेछ। पुलिस सूत्रअनुसार, 2012 को अगस्तमा दार्जीलिङ जिल्ला पुलिस समतलका छवटा थानालाई समेटेर सिलगढ़ी पुलिस कमिश्नरेट स्थापना गरिएको थियो। 640 वर्ग किलोमिटर क्षेत्रमा काम आरम्भ गरेको यस कमिश्नरेटले पछि विभिन्न चरणमा महिला थाना, एनजेपी चौकीलाई थानामा रूपान्तरण, साइबर थाना र भोरेर आलो थानाको स्थापना गर्योौ। गजलडोबामा पर्यटकहरूको सुरक्षाका लागि र क्षेत्रको अनुगमनलाई ध्यानमा राख्दै यस थानाको अवधारणा ल्याइएको थियो।
त्यो बेला एनजेपी थानाअन्तर्गत रहेको मिलनपल्ली चौकीलाई भोरेर आलो थानामा रूपान्तरण गरिएको थियो। केही पूर्वाधार विस्तार भए पनि ओसीको कोठा, ड्युटी अफिसरको कार्यक्षेत्र जस्ता आधारभूत व्यवस्थाहरू पछिबाट निर्माण गरियो। तर अझै पनि थानामा लकअप वा अफिसरहरूका लागि व्यवस्थित बसोवासको व्यवस्था छैन। थानाभित्र नबदिशा नामक एउटा बालक-बालिकाको स्कूल पनि सञ्चालनमा छ, जहाँ शिक्षित महिला सिभिकहरू बालक-बालिकाहरूलाई पढ़ाउँछन्। थानाको 150.5 वर्ग किलोमिटर क्षेत्रमा एउटा मात्र चौकी आमबारी चौकी छ। यो क्षेत्र 108.5 वर्ग किलोमिटरको छ। थानाअन्तर्गत जनसङ्ख्या लगभग एक लाख छ जसमा 70 प्रतिशत आमबारी क्षेत्रका छन्। यसमा तीनवटा ग्राम पञ्चायतहरू पनि छन्। भोरेर आलो थानामा 14 जना अफिसर, 10 जना कन्स्टेबल र केही सिभिक भोलिण्टियरहरू कार्यरत छन्। चौकीमा जनशक्ति झनै कम्ती छ। पुलिस सूत्रअनुसार, गत नोभेम्बरमा यस थानामा 15 वटा जति मामिला दर्ता भए जसमा प्रायः आमबारी क्षेत्रका घटनाहरू थिए। भोरेर आलो क्षेत्रमा भने दुर्घटना र सामान्य विवादबाहेक मुद्दाहरू कमै दर्ता भएका छन्। मुख्यमन्त्रीको निर्देशनमा केही महीनाअघि जमीन पुनः कब्जा गर्ने क्रममा केही मामिलाहरू दर्ता भएका थिए। त्यसबाहेक थानाको स्थानान्तरणका लागि बढ़ी जनघनत्व भएको, तीन ग्राम पञ्चायतले घेरिएको र मुद्दाहरूको सङ्ख्या बढ़ी रहेको आमबारीलाई छनौट गरिएको हो। नयाँ थानाको सञ्चालन छिट्टै आरम्भ गरिने बताइएको छ।