युवतीको कपाल चोरी

सड़कमा पैसा र गहना लुटपातको घटना प्रायः सुनिन्छ। तर के कपाल चोरी पनि हुन्छ? त्यो पनि कुनै भीड़भाड़ कार्यक्रममा! सुन्नेहरूलाई अचम्म लाग्न सक्छ। तर यसपल्टक सिलगढ़ीको सूर्यनगर मैदानमा यस्तै एउटा घटना घटेको छ। गत आइतवार बेलुकी एउटा निजी संस्थाले आयोजना गरेको कार्निभल हेर्न सूर्यनगर मैदान गएकी थिइन् एक युवती। तिनका काकी र केही साथीहरू पनि साथमा थिए। कार्यक्रमको बीचमा अचानक आफ्नो लामो कपाल हराइसकेको युवतीलाई अनुभव भयो। कसैले चुपचाप तिनको कपाल काटेर लगेछ। त्यसबारे थाहा पाउने बित्तिकै रुँदै युवती बेहोस भइन्। त्यस्तो किन नहोस् त? किशोरीको कपाल ढाँडमुनि कम्मरसम्म आइपुगेको थियो। ती बाक्ला र कालो कपाललाई युवतीले निकै माया गर्थिन्। कपालकै कारण युवतीको ससुरालले तिनलाई मन पराएको थियो। तीन वर्षअघि न्यू जलपाइगढ़ी (एनजेपी) क्षेत्रकी उक्त युवतीको विवाह कोचबिहार जिल्लामा भएको थियो। तिनका श्रीमान् कामको कारण एनजेपी क्षेत्रमा ससुरालकै नजिक बस्छन्। त्यहाँबाट युवती कार्निभलमा हेर्न आएकी थिइन्। तर यस्तो अचम्मको घटना हुन्छ भनेर तिनले कल्पना पनि गरेकी थिइनन्।

रिस र दुःखले आँसु झार्दै युवतीले भनिन्, कार्निभलमा कार्यक्रम हेर्दै थिएँ। अचानक पिठ्युँतिर कपालको चोटी हराइसकेको अनुभव भयो। तुरुन्तै मैदानमा उपस्थित पुलिसलाई जानकारी दिएँ। त्यहाँका सीसीटीभी फूटेज हेरेर अपराधीलाई पक्रिन सकिन्छ भन्ने सोचेकी थिएँ। तर पुलिसले पहिले थानामा प्राथमिकी दर्ता गर्नुपर्ने बतायो। दुःख व्यक्त गर्दै तिनले भनिन्, कपालकै कारण ससुरालले मलाई मन पराएको थियो। अहिले म कसरी तिनीहरूलाई अनुहार देखाउनु?

यद्यपि यस घटनाबाट अचम्मित भए पनि युवती अपराधीलाई दण्ड नदिई नछोड्ने पक्षमा छन्। त्यसैले सोमवार दिनभरि पुलिस थाना धाइन्। सुरुमा तिनी एनजेपी थानामा प्राथमिकी दर्ता गर्न गइन्। तर घटना सिलगढ़ी थाना क्षेत्रमा भएकाले तिनलाई फर्काइयो। अन्ततः महिला थानामार्फत सिलगढ़ी थानामा पुगेर तिनले प्राथमिकी दर्ता गराइन्। केही महीनाअघि नदियाको शान्तिपुर क्षेत्रमा यस्तै एउटा गिरोह सक्रिय भएको थियो। लामो कपाल भएकी महिलाहरू तिनीहरूको लक्ष्य हुन्थे। मौका मिल्नेबित्तिकै कपाल काटेर भाग्थे। चोरेको कपाललाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नु उद्देश्य हुन्थ्यो। सिलगढ़ीको बर्धमान रोडमा कपालको व्यापार गर्ने अब्दुल्ला गाजीले भने, चीन, थाइल्याण्ड, म्यानमारजस्ता देशहरूमा विग बनाउन वा महँगा खेलौना उत्पादन गर्न कपाल आवश्यक पर्छ। त्यसैले लामो कपालको माग धेरै छ। तिनीअनुसार, भारतको कपाल अन्तर्राष्ट्रिय बजारमा निकै मूल्यवान मानिन्छ। न्यूजील्याण्ड र अमेरिकाजस्ता देशमा पनि कपाल तस्करीमा धेरै गिरोह संलग्न छन्। सामान्य प्रकारका साना वा झरेका कपाल प्रति किलो 15-40 हजार रुपियाँसम्म बिक्री हुन्छ। तर लामो कपालको मूल्य अझै धेरै हुन्छ। अन्तर्राष्ट्रिय बजारमा तीन लाख रुपियाँ प्रति किलो कपाल बिक्री हुने गरेको जानकारी छ। त्यसैले एनजेपीका उक्त युवतीको कपाल हाल कहाँ छ भन्ने कुरा पत्तो लगाउन पुलिस प्रयासरत छ।

By Piyali Poddar