चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुई मुलुकले १२ वर्षअघिको स्वतन्त्र व्यापार सम्झौतालाई अद्यावधिक गरी मंगलबार नयाँ सम्झौता गरेका हुन् ।

न्युजिल्यान्डको छिमेकी अस्ट्रेलियासँगको व्यापारिक सम्बन्ध बिग्रँदै गएका बेला चीनले उक्त सम्झौता गरेको हो । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओ र उनका न्युजिल्यान्डका समकक्षीले सम्झौतामा भिडियो लिंकमार्फत हस्ताक्षर गरेका हुन् ।

सम्झौताले दुवै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्‍याउने बताइएको छ । सन् २००८ मा चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग गरेको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता थियो ।

नयाँ सम्झौताका लागि विगत ३ वर्षदेखि दुवै मुलुकका अधिकारीहरूबीच वार्ता भइरहेको थियो । क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहनसमेतका सेवा क्षेत्रलाई न्युजिल्यान्डका लागि थप खुला गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *